close

लमजुङ जिल्ला प्रशासनमा बन्यो आधुनिक प्रतीक्षालय

लमजुङ जिल्ला प्रशासनमा बन्यो आधुनिक प्रतीक्षालय

Trulli
ADVERTISEMENT

लमजुङ- जिल्ला प्रशासन कार्यालय लमजुङमा सेवाग्राहीका लागि प्रतीक्षालय निर्माण गरिएको छ । कामविशेषले आउने सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमा प्रतीक्षालय निर्माण गरिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार यसअघि कार्यालय परिसरमा २ वटा प्रतीक्षालय थिए । अहिले एउटै व्यवस्थित प्रतीक्षालय निर्माण गरिएको हो ।

 

सेवाग्राही तथा नागरिकलाई सहज रूपमा बस्न मिल्ने गरी प्रतीक्षालयमा कुर्सी राखिएको छ । प्रतीक्षालयमा लमजुङ उद्योग वाणिज्य संघको सहयोगमा ३९ इन्चको टेलिभिजन पनि राखिएको छ ।

 

कार्यालयमा आउने सेवाग्राहीलाई मोबाइल अफ भएर समस्या नहोस् भन्न टेलिकम लमजुङको सहयोगमा मोबाइल चार्जिङ स्टेसन पनि राखिएको छ । कार्यालय आफैंले करिब ५ लाख रुपैयाँ लागतमा प्रतीक्षालय निर्माण गरिएको शर्माले जानकारी दिए । 

 

प्रशासन कार्यालयबाट दिइने सेवा प्रक्रियाका लागि केही समय लाग्ने भएकाले सेवा सुरु गरेपछि नतिजा नआउन्जेल प्रतीक्षालयमा बस्न सकिनेछ ।


प्रतीक्षालयमा करिब ८० जना अट्ने सक्छन् । कामविशेषले आएका सेवाग्राहीले केही समय कुर्नुपर्ने भए प्रतीक्षालयमा बस्ने, टिभी हेरेर मनोरञ्जन लिने र पालिका स्तम्भ पार्कमा जानकारी लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

 

प्रशासनमा सेवा लिने सेवाग्राहीले ३ वटै तहका सरकारको संरचना, जिल्लाको संरचना, स्थानीय तहको संरचनाबारे जानकारी लिन सक्नेछन् । 

 

उनका अनुसार कार्यालय परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय राखिएको छ । महिलाका लागि स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । 

 

कार्यालय परिसरमा विभिन्न प्रकारका बिरुवा रोपिएको छ । कुनै पनि नागरिक सेवा पाउनबाट वञ्चित नहोउन् र कार्यालय आउँदा सहज सेवा पाउन् सकून् भनेरै प्रशासनलाई नागरिकमैत्री, प्रविधिमैत्री बनाउँदै लगिएको उनले बताए ।

 

कार्यालयले क्यु म्यानेजमेन्ट सिस्टम (टोकन प्रणाली) बाट पनि सेवा सुरु गरिसकेको छ । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रका लागि टोकन प्रणाली लागू भएको हो ।