close

वडाले गरायो साहित्यकार जमघट

वडाले गरायो साहित्यकार जमघट

Trulli
ADVERTISEMENT

तनहुँ- प्रायः पाहुनाको भीड हुने तनहुँको पाथर्दी सामुदायिक होमस्टे (घरबास) मा शुक्रबार साँझदेखि शनिबार दिउँसोसम्म साहित्यकार भेला भए । कौराह गुञ्जने होमस्टेमा साहित्यिक सिर्जना सुनिए ।

 

शुक्रबार साँझ गाउँलेले कौराहको तालमा साहित्यकारलाई छमछमी नचाए । शनिबार दिउँसो साहित्यकारले पैँचो तिरे । कविता, गजल, मुक्तक र गीत सुनाए ।

 

गाउँमा पहिलो पटक भएको साहित्यिक कार्यक्रममा स्रष्टाको सिर्जनामा रम्दै गाउँलेले परर ताली बजाउँथे । गजलको शेरमा वाह-वाह थप्थे । धेरै सर्जकले पाथर्दी गाउँलाई केन्द्रमा राख्दै सिर्जना रचेका थिए । 


‘आफ्नै सम्झी आउनुहोस् पाथर्दी यो गाउँमा
प्रकृतिले सिंगारेको स्वर्गजस्तै ठाउँमा 
यी ओठभरि मुस्कान अनि खुसी छरौँला 
फूलका गुच्छा हातमा लिई स्वागत गरौँला...’


गीतकार अनुराग अधिकारीले शुक्रबार पाथर्दी गाउँको न्यानो आतिथ्य पाएपछि भोलिपल्ट बिहानै उठेर लेखेको गीत सुनाए । 


पाथर्दी गाउँमा भएको साहित्यिक कार्यक्रमको तालमेल शुक्ला साहित्य संगम तनहुँले मिलाएको थियो । पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय कवि सम्मेलन तथा साहित्य संगमको १ सय ७७औँ काव्य शृंखला भीमाद नगरपालिकाको वडा नम्बर ९ पाथर्दीमा गरिएको हो ।

 

वडा कार्यालयको आर्थिक सहयोग र होमस्टे व्यवस्थापन समितिको व्यवस्थापनमा भएको कार्यक्रममा २ दर्जन साहित्यकारले सिर्जना पस्किए । केहीले देशको स्थितिको चिन्ता दर्शाए सिर्जनाकै माध्यमबाट । 


कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले पाथर्दीलाई आफ्नो रचनामा समेटेर सुनाए । 

 

‘पाथर्दी स्नेहको माला श्रद्धाको फूल उन्दछ 
सुनाई गर्वले कौरा बनी संस्कृति फुल्दछ...’

 

उनले पर्यटन प्रवर्द्धनमा गीत र कविताको महत्त्वपुर्ण भूमिका रहने बताए । धेरै स्रष्टाको अभिव्यक्तिमा गुनासो पाउने गरेको बताउँदै उनले भने, ‘यो दुनियाँलाई आशाको सन्देश दिने हो । चेतना र जागरणको बाटोमा अगाडि बढाउने हो ।’ 

 

स्थानीय तहले साहित्य, कला, संस्कृति र भाषालाई पनि महत्त्व दिनुपर्ने उनको धारणा थियो । 


वडाध्यक्ष इमानबहादुर थापाले साहित्यको माध्यमबाट वडामा रहेका सम्भावनाको बजारीकरण गर्ने प्रयत्न रहेको सुनाए । ‘पर्यटन प्रवर्द्धनका लागि साहित्य नौलो प्रयोग हुन सक्छ भनेरै कार्यक्रम गरेका हौँ’, उनले भने, ‘स्रष्टाको सिर्जना देशभर प्रचार हुनेछ ।’

 

भीमाद नगरपालिकाले यो वर्ष साहित्यका लागि बजेट विनियोजन गरेको यो पहिलो कार्यक्रम हो । राष्ट्रिय कवि सम्मेलनका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ ।