close

कर्णाली करिडोरः सडकसँग जोडिए हुम्लाका ४ गाउँपालिका 

कर्णाली करिडोरः सडकसँग जोडिए हुम्लाका ४ गाउँपालिका 

Trulli
ADVERTISEMENT

हुम्ला- सरकारको गौरवको आयोजना कर्णाली करिडोरले हुम्लाका ४ वटा गाउँपालिका छोएको छ । यसअघि तल्लो क्षेत्रका अदानचुली र ताजाकोट गाउँपालिकालाई करिडोरले छोएको थियो ।


कालीकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्ला खण्डको १ सय २३ किलो मिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टानी भागलाई नेपाली सेनाको विकास निर्माण दलको प्रयासमा करिडोरमा पुर्‍याउन सकिएको खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले बताए । 

 

उनका अनुसार चट्टानको लेबल मिलाउने, गाह्रो लगाउने, ग्याबिन भर्ने कामसमेत सुरु भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिका बीचमा रहेको कर्णाली करिडोरअन्तर्गत खण्डको असजिलो क्षेत्र सलीसल्ला भीर छिचोलिएपछि जिल्लाका ४ वटा गाउँपालिकामा सडकको पहुँचमा पुगेका छन् ।


जिल्लाकै अति अप्ठेरो र चट्टानैचट्टान भएको उक्त क्षेत्रको भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न सफल भएको हो ।


सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न सेना सफल भएको सर्केगार्ड गाउँपालिका गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताए । उनले भने, ‘अब हाम्रो गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । विभिन्न खाद्यवस्तुदेखि भौतिक निर्माणका सामग्री सहज र सस्तोमा किन्न सकिनेछ ।  सेनालाई धन्यवाद भन्न चाहन्छु ।’

 

सेनाले जनशक्ति, मेसिन र विस्फोटको कार्य लगातार गरेर भीर छिचोल्न सफल भएको हो । भीर छिचोलिएपछि सेनाले मेसिन पनि भीर पार गरेर सलीसलल्लामा काम गर्ने क्षेत्रमा लगेको छ ।

 

अझै करिब ६ सय मिटर लम्बाइको उक्त भीरमा विस्फोटका लागि कामदारले शरीरमा डोरी बाँधेर भीरमा काम गरिरहेका छन् । २० मिटर अग्लो चट्टानलाई विस्फोट गरेर सडक निर्माण गरिएको छ । असजिलो भीरमा ट्रयाक खोल्ने काम पूरा भएकाले सेना आफ्नो जिम्माको काम सम्पन्न गर्ने कार्यको नजिक पुगेको छ ।

 

सेनाले सलीसल्ला भीरमा काम गर्न कठिन रहेको बताउँदै आएको थियो । ‘माथि भीर र तल कर्णाली नदीमा काम गर्नुपर्ने जोखिम कामदारलाई थियो । तर, हामीले लक्ष्यअनुसारको काम पूरा गरेका छौँ । यही आर्थिक वर्षभित्र सडक हस्तान्तरण गर्ने गरी काम भइरहेको छ’, प्रमुख सेनानी कार्कीले भने ।
 
कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्ला क्षेत्रसम्मको सडकमध्ये कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको २७ किलोमिटरमा सडक निर्माण पूरा भएर यातायात सञ्चालन हुँदै आएका छन् ।


हुम्ला खण्डको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटरमा सेनाले अन्तिम चरणको निर्माण गरिरहेको छ । सो क्षेत्रमा चैतभित्र ट्रयाक खोल्ने कार्य पूरा गर्ने र असारसम्म गाडी गुडाउन योग्य बनाइने सेनाले जनाएको छ ।