close

डेढ लाख पुरस्कार राशिको भलिबल खेलाउँदै शुक्लागण्डकी

डेढ लाख पुरस्कार राशिको भलिबल खेलाउँदै शुक्लागण्डकी

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । १३ देखि १५ चैतसम्म गण्डकी प्रदेशअन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । खेल गाउँफर्कोदय मावि ढोरफिर्दीको खेलमैदानमा सञ्चालन हुनेछ ।


प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

 

उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेस्ट स्पाइकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

उज्यालो शुक्लागण्डकी अभियानका लागि खेलकुद अपरिहार्य भएकाले मेयर कप आयोजना गरेको नगरप्रमुख किसना गुरुङले बताए । खेलकुदले अनुशासित र असल नागरिक बनाउन सघाउने उनको भनाइ छ ।

 

उपप्रमुख सविता रसाइलीले युवा शक्तिलाई राष्ट्रप्रतिको दायित्वबोध गराउन प्रतियोगिताले भूमिका खेल्ने बताइन् । गण्डकी प्रदेशका ८५ वटै पालिकालाई प्रतियोगितामा सहभागिता जनाउन आमन्त्रण गरिएको उनले जानकारी दिइन् । ‘तनहुँका १० वटै पालिकालाई अनिवार्य उपस्थित हुन भनेका छौँ’, उनले भनिन् ।

 

प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले पहिलो पटक सञ्चालन गर्न लागिएको प्रतियोगिता सफल पार्न सबैको सहयोग आवश्यक पर्ने बताए ।

 

गत १८ फागुनमा थप्रेकमा बसेको ८५ औँ नगर कार्यपालिका बैठकले प्रथम मेयर कप भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । मेयर कप सञ्चालनका लागि वडा नम्बर ५ का वडाध्यक्ष दीर्घबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय मेयर कप सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ । 

 

नगरका १२ वटै वडामा रहेका खेलकुद विकास समिति प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन उपसमितिमा रहेका छन् । पश्चिमाञ्चल भलिबल संघको प्राविधिक सहयोग र जिल्ला भलिबल संघ तनहुँले व्यवस्थापनमा सहयोग गर्नेछन् ।

 

प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । शुक्लागण्डकी नगरपालिकाले मेयर कपमा सहभागी हुन २४ खेलाडीसहित टिम म्यानेजर र कोच गरेर २८ जना छनोट गरेको छ ।

 

गत शनिबार नगरभरका ८७ जना खेलाडीबाट छनोट गरिएको हो । शुक्लागण्डकीका २ टिम सहभागी हुने नगरपालिकाले जनाएको छ ।