close

आफन्त भेट्न गएका वडाध्यक्ष सम्पर्कविहीन

सिफारिस दस्तखतका लागि कार्यवाहक वडाध्यक्षको घरमै पुग्नुपर्ने बाध्यता

आफन्त भेट्न गएका वडाध्यक्ष सम्पर्कविहीन

सिफारिस दस्तखतका लागि कार्यवाहक वडाध्यक्षको घरमै पुग्नुपर्ने बाध्यता

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय ५ महिनादेखि वडाध्यक्षविहीन बनेको छ । वडा नम्बर ४ का वडाध्यक्ष पदमबहादुर भण्डारी लामो समयदेखि जिल्लाबाहिर रहँदा वडा कार्यालय वडाध्यक्षविहीन बनेको हो ।

 

कार्यालयमा वडाध्यक्ष नहुँदा वडाका सम्पूर्ण कामकाज प्रभावित भएका छन् भने सेवाग्राहीलाई सास्ती भएको छ । घरपरिवार भेटघाटका लागि गत मंसिरमा कैलाली गएका वडाध्यक्ष भण्डारी हालसम्म नफर्केपछि सेवाग्राहीलाई जन्म दर्ता, नागरिकतालगायत सिफारिस लिन समस्या भएको स्थानीय उमेश भण्डारीले बताए ।


 
घरपरिवार भेट्न भन्दै गत मंसिरमा कैलाली गएका वडाध्यक्ष भण्डारी ५ महिना पुगिसक्दा पनि बाजुरा नफर्किंदा सेवाग्राही सास्ती बेहोर्नुपरेको उनको भनाइ छ । वडाध्यक्षले जिम्मेवारी दिएका वडा सदस्य नरि बुढा पनि कार्यालय बस्ने नगरेको स्थानीयको गुनासो छ ।

 

कार्यवाहक वडाध्यक्ष बुढा नियमित कार्यालयमा नहुँदा सेवाग्राहीले घरमै पुगेर सेवा लिने गरेको अर्का स्थानीय निर्प भण्डारीले बताए । वडा नम्बर ४ को घरासिवाडामा निर्माण सम्पन्न मन्दिरको सिफारिस लिनसमेत बुढाको घरमा पुगेको उनको भनाइ छ ।

 

‘सबै वडाबासीको समस्या यही हो’, भण्डारीले भने, ‘वडा कार्यालयबाट सामान्य सिफारिस लिएका सेवाग्राही दस्तखत गराउन बुढाको घरमा पुग्ने गरेका छन् । वडा कार्यालयका सिफारिस कार्यवाहक वडाध्यक्ष बुढाले घरबाटै दस्तखत र छाप हान्ने गरेका छन् ।’


 
वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष बुढा वडा नम्बर ३ सिममा बस्दै आएका छन् । नागरिकताको सिफारिसमा दस्तखत गराउन सिम पुगेर फर्किएको स्थानीय प्रयोग धरालाले बताए । 

 

वडा नम्बर ४ को वडा कार्यालयबाट उपलब्ध भएका सिफासिमा दस्तखत गराउन र छाप हान्न पनि सेवाग्राहीले १ घन्टाको पैदल हिँडेरै फर्किनुपर्ने बाध्यता छ । कार्यालयको टेबुलबाट सेवा दिनुपर्ने समयमा स्थानीय जनप्रतिनिधिले छापसहित बोकेर घरबाट सेवा दिने गरेका छन् ।

 

वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष बुढाले नियमित कार्यालयमा बस्न नसकेको स्वीकारे । ‘३ महिनाका लागि मात्र कार्यवाहक अध्यक्षको जिम्मा लिएको हुँ । यति लामो समयसम्म वडाध्यक्ष नआएपछि अब जिम्मा लिन सक्दिनँ’, बुढाले भने ।

 

५ महिनासम्म पनि वडाध्यक्ष भण्डारीसँग सम्पर्क नभएको र फोन गर्दा पनि नउठाएको उनले बताए । जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले वडाध्यक्ष भण्डारी सम्पर्कविहीन हुँदा सेवाग्राहीलाई सास्ती भएको जानकारी दिए ।

 

‘करिब साढे ३ महिनादेखि वडाध्यक्ष मेरो सम्पर्कमा पनि छैनन् । काम गर्न समस्या परेको छ’, अध्यक्ष शाहीले भने । यस विषयमा गाउँ कार्यपालिकाले निर्णय गर्ने उनको भनाइ छ ।

 

रिक्त वडाध्यक्ष पदपूर्ति गर्न राजीनामा दिएको हुनुपर्नेे प्रावधान रहेकाले गाउँ कार्यपालिकाको बैठकबाट विकल्प खोजिने उनले बताए । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले वडाअध्यक्ष भण्डारी सम्पर्कविहीन भएको जानकारी दिए । जाने बेला पनि वडाअध्यक्ष भण्डारीले आफूलार्ई जानकारी नगराको र अहिलेसम्म गाउँपालिकाको सम्पर्कमा नआएको उनले बताए ।

 

‘लामो समयदेखि सम्पर्कविहीन भएका वडाध्यक्ष भण्डारीले पाउने सुविधा गाउँपालिकाले रोकेको छ । भण्डारीलाई बारम्बार टेलिफोन सम्पर्कमा ल्याउन खोज्दा उहाँकोे फोन रिसिभ भएन’, गैरेले भने ।