close

जसले मह काड्छ, उसैले हात चाट्छ

अवकाशपछि मौरीपालन, वार्षिक १२ लाख आम्दानी 

जसले मह काड्छ, उसैले हात चाट्छ

अवकाशपछि मौरीपालन, वार्षिक १२ लाख आम्दानी 

Trulli
ADVERTISEMENT

सुर्खेत(विरेन्द्रनगर)- विदेश गएरै डलर कमाउनुपर्छ भन्नेहरूका लागि स्वदेशमै बसेर सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, रिटायर्ड अमरबहादुर तारामी मगर । 

 

व्यावसायिक मौरीपालन गरेर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का मगरले वर्षौंदेखि मह पनि काडे, हात पनि चाटे ।

 

उनले आफूले मात्र मह खाएनन्, देशका साथै विदेशमा पनि मह पठाए, चखाए । महलाई आर्यआर्जनको आधार बनाए । अहिले उनले मौरीपालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्छन् ।

 

सुरक्षा निकायबाट अवकाश भइसकेपछि धेरैकोे उद्देश्य भनेको स्वदेशी तथा विदेशी कम्पनीमा सुरक्षा गार्डको काम गर्ने वा भिसा बनाएर विदेश उड्ने हुन्छ ।

 

तर, सेनाका भूतपूर्व रिटायर्ड मगरले नेपाली सेनामा १९ वर्षे जागिरे जीवनपछि मौरीपालन व्यवसाय रोजे । उनी अहिले कहिले हिमालमा त कहिले पहाडका सुन्दर ठाउँमा मौरीसँगै रमाउँदै मनग्य आम्दानी गर्दै आएका छन् । 

वडा नम्बर ११ मा मगरले आफ्नै हिमालयन मौरीपालन उद्योग सञ्चालन गरेका छन् । स्वदेशमा केही गर्न सकिन्न र रोजगारी पाइँदैन भनेर बर्सेनि लाखौँ युवाहरू विदेशिने गरेका बेला मगरले भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य गरेका छन् । 

 

५ हजार रुपैयाँको लगानीमा १ घार मौरीबाट मौरीपालन व्यवसाय सुरु गरेका मगरले अहिले वार्षिक १२ लाख रुपैयाँसम्मको आम्दानी लिँदै आएको बताउँछन् । 

 

‘२०५८ मा पेन्सन पकाएपछि के गर्ने भन्ने विषयमा सोच्दासोच्दै २ वर्ष बित्यो’, मगरले भने, ‘सबै व्यवसायकोे विषयमा अध्ययन गरेँ । कर्णालीमा मौरीपालन व्यवसाय सजिलो, नाफा हुने र यसको भविष्य पनि राम्रोे देखेपछि २०६० बाट मौरी पाल्न थालेँ ।’ 

 

जागिरे हुँदा मिहिनेतका साथ काम गर्दा पनि भनेजस्तो तलब नहुने अहिले आफ्नै व्यवसाय गर्दा आफैं कामदार आफैं मालिक भएर परिवारसँग बस्दाको आनन्द झनै रमाइलो हुने मगरले सुनाए ।


‘१ घार भेरी सामुदायिक वन उपभोक्ता समूह र १ घार आफ्नै ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको थिएँ । तिनै घार मौरीले १ वर्षमा ३० घार मौरी बनाएँ र १ घार समूहमै फिर्ता गरेँ’, मगरले भने । 

 

५ हजार रुपैयाँ लगानी र समूहबाट पाएको १ घार मौरीबाट सुरु गरेको मौरीपालन अहिले सय घार पुगेका छन् । उनले भने, ‘अहिले वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छु ।’

 

कर्णालीको प्राकृतिक सौन्दर्य र विभिन्न जडीबुटीका कारण पनि यहाँ मौरीपालन व्यवसायको सम्भावना देखेपछि मौरीपालन सुरु गरेको उनले बताए । अहिले उत्पादित मह बजारमा धेरै माग भए पनि पुर्‍याउनै नसकिएको मगर सुनाउँछन् । 

 

‘कर्णाली प्रदेश सौन्दर्यको खानी भएको र मौरीपालन व्यवसायको सम्भावना प्रचुर छ । मौरीपालनलाई सरकारी स्तरबाट विशेष पहल हुनुपर्ने हो तर कसैको चासो छैन’, मगरले भने । मौरीपालनमा आधुनिक प्रविधिबारे कतिपयपलाई अहिलेसम्म जानकारी नभएकाले सरकारले नै यसतर्फ चासो दिनुपर्ने उनको सुझाव छ ।