close

युवा जागरणलाई जिल्ला अन्तरक्लब पुरुष फुटबलको उपाधि

युवा जागरणलाई जिल्ला अन्तरक्लब पुरुष फुटबलको उपाधि

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेलमा आयोजित जिल्ला अन्तरक्लब पुरुष फुटबल प्रतियोगिताको दोस्रो संस्करणको पहिलो उपाधि युवा जागरण स्पोर्टस् क्लबले उचालेको छ ।

 

दिक्तेलको माटिकोरे खेल मैदानमा सोमबार भएको फाइनल खेलमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडास्थित बाहुनीडाँडा फुटबल क्लबविरुद्ध १ गोल गर्दै युवा जागरण स्पोर्टस् क्लब दिक्तेलले उपाधि उचालेको हो ।

 

पहिलो हाफमा जर्सी नम्बर ११ का खेलाडी डिकेन राईले गरेको गोल नै युवा जागरणको जितका लागि पर्याप्त भएको थियो । दुवैतर्फको दबाबपूर्ण खेलमा पराजयसँगै बाहुनीडाँडा फुटबल क्लबले उपविजेतामा चित्त बुझाएको छ ।

 

‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभियान’ नारासहित खोटाङ फुटबल एकेडेमी (केएफए) ले आयोजना गरेको प्रतियोगितामा आयोजक केएफए र नेर्पा स्पोर्टस् क्लब सेमिफाइनालिस्ट बनेको छ ।

 

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद ८८ हजार ८८८, दोस्रो स्थान प्राप्त गर्ने लाई ४४ हजार ४४४ र २ वटा सेमिफाइनालिस्ट टिमलाई प्रतिटिम २२ हजार २२२ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

 

विजेता टिमलाई एसियन थाई फुड्सका खोटाङ इन्चार्ज नवराज श्रेष्ठ, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, हिमाली क्लबका अध्यक्ष खुसनारायण सैंजुलगायतले पुरस्कार हस्तान्तरण गरे । 

 

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्टको उपाधि युवा जागरण स्पोर्टस् क्लबका आयन राईले जिते । उनलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

 

उत्कृष्ट गोल रक्षकको उपाधि युवा जागरण स्पोर्टस् क्लबकै गोल रक्षक नवीन पोखरेल, उत्कृष्ट डिफेन्डर बाहुनीडाँडा फुटबल क्लबका शम्भु माझी, उत्कृष्ट मिड फिल्डर नेर्पा स्पोर्टस् क्लबका सन्तोक राई र उत्कृष्ट कोचको उपाधि युवा जागरण स्पोर्टस् क्लबका राजु आचार्यले पाए ।

 

उनीहरूलाई जनही ५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैंजुले बताए । प्रतियोगितामा जिल्लाका १३ टिमबीच स्पर्धा भएको थियो ।

 

शर्पालाई केएफए खेलकुद पत्रकारिता पुरस्कार 

 

खोटाङ फुटबल एकेडेमी (केएफए) ले पत्रकार चिसाङ शेर्पालाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

 

पत्रकारिताको माध्यमबाट जिल्लाको खेल क्षेत्रको वृत्तिविकासमा पुर्‍याएको योगदानको कदर गर्दै केएफएले जिल्ला अन्तरक्लब पुरुष फुटबल प्रतियोगिताको दोस्रो संस्करण समापन अवसरमा पत्रकार शेर्पालाई ६ हजार ६६६ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो । 

 

दिक्तेलको माटिकोरे खेलमैदानमा खोटाङ फुटबल एकेडेमी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तुला राजभण्डारीले पत्रकार शेर्पालाई पुरस्कार राशि र प्रमाणपत्र हस्तान्तरण गरे ।

 

केएफए फुटसल तथा भवन शिलान्यास

 

जिल्ला अन्तरक्लब पुरुष फुटबल प्रतियोगिता उद्घाटनकै अवसरमा केएफए फुटसल सेन्टर तथा केएफए भवन शिलान्यास गरिएको छ । दिक्तेलका विष्णुमाया खत्री, पोस्टकबहादुर खत्री र रामबहादुर खत्रीले निःशुल्क उपलब्ध गराएको जग्गामा केएफए फुटसल सेन्टर तथा केएफए भवन शिलान्यास गरिएको हो ।

 

अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष शेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख रिजालले केएफए फुटसल सेन्टर तथा भवन शिलान्यास गरेका हुन् । फुटसल सेन्टरका लागि एन्फाबाट २ लाख र एन्फा अध्यक्ष शेर्पाले १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।