close

महोत्सव सञ्चालन गर्दै मालिका 

महोत्सव सञ्चालन गर्दै मालिका 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको दरवाङमा मालिका गाउँपालिका, निजी क्षेत्र र स्थानीय सामाजिक संघ-संस्थाको साझेदारीमा महोत्सव आयोजना गरिने भएको छ । 

 

म्याग्दी उद्योग वाणिज्य संघको मालिका बजार इकाइ समिति, गाउँपालिका र युवा क्लबको आयोजनामा २७ चैत २०७७ देखि ३ वैशाख २०७८ सम्म प्रथम मालिका महोत्सव सञ्चालन हुन लागेको हो । 

 

मालिकाको केन्द्र दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघको इकाइका सभापति लेखबहादुर पुनले पर्यटन प्रवर्धन, कला र संस्कृति संरक्षण, ओझेल परेका पर्यटकीय स्थलको प्रचार-प्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए । 

 

‘कोरोनाका कारण थलिएको यहाँको पर्यटन र व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो’, उनले भने, ‘महोत्सवले यस क्षेत्रमा ओझेल परेका धार्मिक, पर्यटकीय स्थलको प्रचार-प्रसार, कला-संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’ 

 

महोत्सवमा पुरुष/महिला भलिबल, लोक दोहोरी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रदर्शनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारको गीत प्रस्तुति रहने उद्योग वाणिज्य संघ मालिका इकाइका सचिव अमृत सापकोटाले बताए । 

 

मालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र दरवाङका वडाध्यक्ष सन्तोष सुवेदीले ओझेल परेका प्राकृतिक स्थल, कला, संस्कृति र खेल प्रतिभाको उजागरका साथै पर्यटन प्रर्वद्धन गरी कोरोनाले थला परेको ग्रामीण क्षेत्रको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

मालिकामा धुरी, दूरलेक, देवीस्थान मालिका, सोलेडाँडा, स्लेट र तामा खानी, भाले बास्ने, निस्कोट, बिम बराह र गाईखर्क ताललगायत पर्यटकीय स्थल छन् । लोकदोहोरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

 

पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७० हजार, ५० हजार र ३० हजार, महिला भलिबलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

 

कृषि प्रदर्शनीमा प्रथम, द्वितीय एवं तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार तथा नौमति बाजामा सहभागी समूहलाई ६/६ हजार र ख्याली नृत्यमा सहभागिलाई ५/५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।महोत्सवमा लोकगायक खड्ग गर्बुजा, कुमार पुनलगायत कलाकारको प्रस्तुति रहनेछ । 

 

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने महोत्सवका लागि १४ वटा उपसमिति बनाएर तयारी सुरु भएको छ । ३३ लाख आम्दानी र २८ लाख रुपैयाँ खर्च अनुमान गरिएकोमहोत्सवबाट बचत हुने रकम पर्यटन पूर्वाधार निर्माण र प्रवर्धनमा खर्चिने आयोजकले जनाएका छन् ।