close

उद्यमी बन्दाको खुसी

उद्यमी बन्दाको खुसी

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको दुवाकोटकी सिम्रन साखकर्मीमा उद्यमी बन्ने सपनासँगै खुसीयाली छाएको छ । चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ दुवाकोटकी साखकर्मी १ सातादेखि पालिकाद्वारा सञ्चालित उद्यमशीलता विकास कार्यक्रममा सहभागी बन्दै आएकी छन् । 

 

४ महिने दूधे बालकलाई घरमा छाडी बिहान १० देखि ५ बजेसम्म तालिममै बस्थिन् अनि सकिएपछि हतार गर्दै घरमा पुग्थिन् । 

 

‘छोरालाई घरमा राखेर मेरो शरीर तालिम हलमा हुन्थ्यो तर मन ऊसँगै हुन्थ्यो,’ उनले भनिन्, ‘बिहान पेटभरि दूध खुवाएर आउँथेँ । बीचमा खाजा खाने समय हुन्थ्यो । फेरि दौडिएर घर पुग्थेँ ।’

 

सयुंक्त परिवारमा बसेकी सिम्रनको मनमा उद्यमी बनेर आर्थिक रूपमा सक्षम हुने सोच छ । ‘सोच पहिल्यै पनि थियो तर लगानी गर्न पैसा थिएन । नगरपालिकाले अवसर दियो । सहभागी भइहालेँ,’ उनले भनिन् ।

 

श्रीमान् र उनले ७ वर्षसम्म दुबईमा काम गरे । कोरोनाले उताको काम गुम्यो अनि बाध्य भएर नेपाल फर्किए । त्यसपछि दुवै बेरोजगार भएको उनले बताइन् । 

 

उनीजस्तै उद्यमी बन्न पाइने हुँदा ईश्वर श्रेष्ठ पनि मख्ख छन् । लामो समय कुवेतमा काम गरेका उनी कोरोनासँगै नेपाल आए । यहाँ काम छैन ।

 

‘भएको पैसा लकडाउनमै सकियो । लगानी गर्न पैसा छैन । नगरपालिकाले उद्यमी बन्ने अवसर दिएकाले मौकाका फाइदा लिएँ’, उनले भने, ‘अब म परिवारलाई पनि उद्यमी बनाउँछु,’ उनले भने । बाख्रापालन गर्ने सोच बनाएका उनी तालिममा सहभागी भएपछि थप ऊर्जा मिलेको बताउँछन् ।

 

साताव्यापी तालिममा उद्यमी कसरी बन्ने, उद्यमी योजना कसरी बनाउने, लगानी कसरी गर्ने, व्यवसाय सञ्चालन गर्ने तरिकाबारे सिकेको उनले जानकारी दिए । तालिम सैद्धान्तिकभन्दा प्रयोगात्मक भए अझ प्रभावकारी हुने उनको बुझाइ छ । 

 

मेयर उद्यमशीलता कार्यक्रम ल्याएको पालिकाले उद्यमी बन्न छनोट भएका युवालाई तालिम दिएको हो । पहिलो चरणमा ३९० जना युवालाई सहभागी गराएको पालिकाले दोस्रो चरणमा छनोटमा परेका सम्पूर्णलाई तालिम दिँदै छ । 

 

नगरपालिकाका अनुसार पहिलो चरणमा ३ सय जना र दोस्रो चरणमा थप ३ सय जना युवालाई उद्यमी बनाइनेछ । छनोट भएका युवालाई बिनाब्याज ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछ । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग सम्झौतासमेत भइसकेको छ ।

 

नगरप्रमुख सोमप्रसाद मिश्रले उद्यमी बनेका युवाले ५ वर्षमा ३ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने बताए । मेयर उद्यमशीलता विकास कार्यक्रम समापन अवसरमा उनले भने, ‘उद्यमी बनिसकेपछि सबैले रकम फिर्ता गर्ने विश्वास छ ।’