संरक्षण अभावमा नासिँदै छन् पञ्च पाण्डवका देवल 


  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली पर्यटकीय सम्भावना बोकेको प्रदेशका रूपमा चिनिन्छ । तर, प्रदेशमा भएका ऐतिहासिक तथा धार्मिक महत्त्वका ठाउँको उचित प्रचार-प्रसार र संरक्षण नहुँदा ओझेल परेका छन् ।

 

कर्णाली प्रदेशको दैलेख पनि अथाह पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । यहाँ रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका पाण्डवका देवलको संरक्षण नहुँदा ओझेल परेका हुन् । 

 

पुरातात्त्विवक महत्त्वका देवलको संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेका छन् । सांस्कृतिक र धार्मिक रूपमा उक्त देवलको महत्त्व भए पनि स्थानीय तथा प्रदेश सरकारले चासो नदिँदा ५ भाइ पाण्डवका पञ्चदेवल जीर्णावस्थामा पुगेको स्थानीय बताउँछन् ।

 

‘सांस्कृतिक र धार्मिक रूपमा महत्त्व बोकेका पञ्चदेवलको छुट्टै महिमा छ । यसको महत्त्वबारे युवालाई बुझाउन जरुरी देखिन्छ’, भैरवी गाउँपालिका वडा नम्बर ६ का सन्तोष कठायतले भने, ‘देवलको संरक्षणमा न स्थानीय सरकारले चासो दिएको छ, न त प्रदेशले नै ।’

 

परापूर्वकालमा पाण्डवहरू वनबासमा रहेका बेला एकै रातमा पञ्चदेवल निर्माण गरिएको किंवदन्ती छ । यी देवलको संरक्षण र प्रचार-प्रसार नहुँदा नासिने अवस्थामा पुगेकाले संरक्षण र सम्वद्र्धन गर्न सके धार्मिक पर्यटनमा टेवा पुग्ने कठायत बताउँछन् ।

 

पुरातत्त्व विभाग, स्थानीय, प्रदेश सरकारले पुराना सम्पदा संरक्षणको गहना पञ्चदेवललाई बचाउनुपर्ने स्थानीय सुनाउँछन् । 

 

पुराना सम्पदा भएको ठाउँमा मेसिन प्रयोग गर्न, नजिकबाट बाटो लैजान, पत्थर लगाउन, तोडफोड गर्न नमिल्ने नीति अवलम्बन गर्न नसक्दा कतिपय सम्पदा नास हुने र पुरानो शैलीको स्वरूप हराउने उनीहरूको चिन्ता छ । 


जिल्लामा भएका पुरातात्त्विक सम्पदा, देवल, धर्मशाला, थान निजी स्वामित्वका जग्गा वरपर रहेकाले आसपासका जग्गालाई सरकारले अधिग्रहण गर्न सके सम्पदाको संरक्षण हुने स्थानीयको बुझाइ छ ।

 

स्थानीय, प्रदेश र केन्द्र सरकारले जीर्ण भएका सम्पदालाई त्यसको मौलिकता नमर्ने गरी पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्ने उनीहरूको माग छ । दैलेखका ११ मध्ये ४ वटा स्थानीय तहमा पुरातात्त्विक, सांस्कृतिक र धार्मिक महत्त्वका स्थल छन् ।

 

नारायण नगरपालिकाको वडा नम्बर ७ किमुगाउँ, वडा नम्बर ४ को देवलकाँडा, वडा नम्बर २ को जाहरकोट, वडा नम्बर १ को कुइकानामा र महाबु गाउँपालिकाको वडा नम्बर ५ काँसीकाँधमा पाण्डवले बनाएका देवलको संरक्षण र प्रचार-प्रसार नहुँदा ओझेल परेका हुन् ।

 

त्यस्तै, भैरवीगाउँपालिका वडा नम्बर ३ को कोइरालगाउँ, वडा नम्बर ७ को ब्याउले, दुल्लु नगरपालिकाको वडा नम्बर ३ को बडालम्जी, वडा नम्बर १२ को गौरी, वडा नम्बर ५ को पटांगिनी, वडा नम्बर १० को कालभैरव एवं अन्यत्रका गरी करिब ३ सय २५ बढी पञ्चदेवल रहेका छन् ।

 

ब्याउलेको धर्मशाला भैँसीगोठ बन्यो

 

दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ७ र कालीकोटको सीमामा पर्ने पाण्डवले कलात्मक शैलीमा बनाएको ब्याउले धर्मशाला अहिले भैँसीगोठमा परिणत भएको छ । पुरातात्त्विक र पर्यटकीय सम्भावना बोेकेको उक्त धर्मशालाबारे विभागमा कुनै रेकर्ड नभएको स्थानीय बताउँछन् ।

 

पहिले जुम्ला-कालीकोट पैदल यात्रा गर्ने ठाउँमा अवस्थित रहेको ब्याउलेको धर्मशालामा पैदल यात्रीले साँझ परेपछि बास बस्थे ।


सामल कुट्ने ‘सामु’ (हाटबजार जाँदा लिएको खाद्यान्न कुट्ने फलामको डल्लो) नै चोरी भएको छ । ढुंगैढुंगाले बनेको २ कोठे ब्याउलेको धर्मशालाको ओखलमा भैरवीको गढेजीउलाबाट राक्षसहरूले धान चोरेर ओखलमा कुटेर भात पकाएर खाएको किंवदन्ती छ ।

 

ब्याउले धर्मशाला करिब २ हजार ३ सय मिटर अग्लो ठाउँमा अवस्थित छ । पाण्डवहरू भारतको उत्तराखण्ड हुँदै नेपालतर्फ आएको र १ दिनको बास बस्नलाई धर्मशाला निर्माण गरेको सांस्कृतिक मान्यता छ । 

 

दैलेखका सम्पदा संरक्षण र सम्वर्द्धनमा प्रत्येक वर्ष पर्यटन मन्त्रालयले रकम खर्चिंदै आएको पुरातत्त्व विभागका अधिकृत रामबहादुर कुँवरले दाबी गरे ।