close

कक्षा–कोठामा निर्वाचन शिक्षा 

कक्षा–कोठामा निर्वाचन शिक्षा 

Trulli
ADVERTISEMENT

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङले विद्यालयस्तरीय निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको छ ।

 

निर्वाचनमा मतदाताको मतको महत्त्वबारे जानकारी गराउँदै मत बदर हुने दर न्यूनीकरणका लागि जिल्ला निर्वाचन कार्यालयले विभिन्न विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको हो ।

 

जिल्लाका १० स्थानीय तहका १५ विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएकामा हालसम्म १० विद्यालयमा कार्यक्रम सञ्चालन गरिसकिएको कार्यालयका जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताइन् ।

 

निर्वाचन शिक्षा कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रालाई सहभागी गराएर संविधान, लोकतन्त्र, निर्वाचन, निर्वाचनको महत्त्व र आवश्यकता, मतदाता, मतदाता नामावली दर्ता, बदर मतपत्र, मतपत्र बदर हुन नदिने विधिबारे जानकारी दिने व्यवस्था छ ।

 

विद्यार्थीमार्फत मतको महत्त्व र मत बदर हुन नदिने विधिसम्वन्धी सन्देश गाउँ–गाउँमा पुर्‍याउने लक्ष्यका साथ विद्यालयमा पुगेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिइन् ।

 

‘विद्यार्थीलाई संविधान र लोकतन्त्रबारे जानकारी दिन्छौँ । निर्वाचन के हो र किन हुन्छ, मतदाता नामावलीको दर्ता कहाँ, कहिले र कसरी गरिन्छ, बदर मतपत्र आदिबारे जानकारी दिइन्छ,’ जिल्ला निर्वाचन अधिकारी राईले भनिन्, ‘निर्वाचनमा बदर मतको संख्या अधिक देखिने गरेको छ । अमूल्य मत बदर भए निर्वाचनको नतिजा परिणाममुखी हुन सक्दैन । हाम्रो उद्देश्य भनेको निर्वाचनमा हुने बदर मतको दर न्यूनीकरण गर्दै मतको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्ने हो ।’ 

 

अभियानका क्रममा विद्यार्थीमार्फत घर–घरमा निर्वाचत शिक्षालाई पु¥याउने लक्ष्य राखिएको निर्वाचन कार्यालयले जनाएको छ । बाँकी विद्यालयमा पनि क्रमशः निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी राईको भनाइ छ ।

 

निर्वाचन शिक्षा कार्यक्रमअन्तर्गत विद्यार्थीलाई मतदाता नामावली दर्ता गर्ने समय, स्थान र विधिबारे पनि जानकारी दिने गरिएको कार्यालयले बताएको छ । निर्वाचनको चर्चा चलिरहेको समय जिल्ला निर्वाचन कार्यालयले निर्वाचन शिक्षा कार्यक्रमलाई अघि बढाएको हो ।