close

साउनेका किसानलाई ५० प्रतिशत अनुदानको बिउ बाँडिँदै 

साउनेका किसानलाई ५० प्रतिशत अनुदानको बिउ बाँडिँदै 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरमा व्यावसायिक कृषिमा लागेका किसानलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (कृषि-जोन) उदयपुरले त्रियुगा नगरपालिकाको वडा नम्बर १४ साउनेका किसानलाई आधा मूल्यमा अदुवा र बेसारको बिउ गाउँमै पुगेर बिउ वितरण गरेको छ ।

 

जोन कार्यालयले चालू वर्षको कार्यक्रमअन्तर्गत ५० प्रतिशत छुट अनुदानमा अदुवा र बेसारको बिउ वितरण गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७३/७४ देखि सुन्तला, बेसार र अदुवा खेती जोन घोषणा भई उदयपुरमा प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । 


न्यूनतम १० हेक्टरसम्म जमिनमा गरिने व्यावसायिक खेतीलाई पकेट क्षेत्र न्यूनतम १ सय हेक्टरभन्दा माथिलाई ब्लक, ५ सय हेक्टरभन्दा माथिलाई जोन र १ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिने व्यावसायिक खेतीलाई सुपर जोन घोषणा गरेर सहयोग गर्ने नीति सरकारको छ ।

 

पकेट क्षेत्रका कृषकलाई स्थानीय तहले सहयोग गर्छ भने ब्लकलाई प्रदेश सरकारले र जोन तथा सुपरजोनलाई संघीय सरकारले रेखदेख र सहयोग गर्दै आएको छ । 

 

उदयपुरमा ५ वर्षदेखि सुन्तला जोन सञ्चालन भइरहेको छ भने ३ वर्षदेखि अदुवा, बेसार जोन घोषणा गरी अहिले ३ वटा जोन सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (कृषि-जोन) उदयपुरले जनाएको छ ।

 

उदयपुरमा अदुवा बेसार २ सय ४३ हेक्टरबाट सुरु भएको जोनमा अहिले ५ सय ६५ हेक्टर पुगिसकेको छ । चालू वर्षदेखि ५ वटा जोन बनाउने प्रक्रिया अघि बढाइएको र धान, आलु, बाख्रा र मकै खेतीको जोन बनाउन सरकारलाई सिफारिस गरिसकेको परियोजनाका उदयपुर कार्यालय प्रमुख रामस्वगारत साहले बताए । 

 

चालू वर्ष अदुवा बेसारको बिउ वितरणको जिम्मा दीपिका कृषि केन्द्रले ७६ लाख रुपैयाँमा ठेक्का पाएको छ । ८२ हजार किलो अदुवा, बेसारको बिउ यो वर्ष वितरण गरिने लक्ष्य छ ।

 

उदयपुरमा चालू वर्षदेखि नै चक्लाबन्दी खेती सुरु भएको छ । किसानलाई कपुर-१ र २ जातको बेसार २ हजार किलो र ७ सय ७५ किलो अदुवाको बिउ वितरण गरिएको छ । 

 

बुधबारबाट ५० हजार २ सय किलोग्राम अदुवा र ३२ हजार ४ सय किलो बेसारको बिउ वितरण गरिनेछ । आय प्रतिस्थापन गरी निर्यातमा जोड दिएर किसानलाई सहुलियत दिने उद्देश्यले सरकारले कृषि-जोन कार्यक्रम सञ्चालन गर्दै कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरण र औद्योगिकीकरण गर्दै आएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जानकारी दिए । 

 

‘कृषि उत्पादन बढाउन सके आत्मनिर्भर र आर्थिक रूपमा सम्पन्न हुन सकिन्छ । व्यावसायिक कृषि पेसाले नेपाली समाजलाई रुपान्तरण गर्न सहयोग पुग्नेछ’, उनले भने ।

 

२० वर्षअघि परम्परागत रूपमा गर्न थालेको बेसार खेतीले अहिले जिल्लाको ‘ब्रान्ड’ हुने मौका पाएको त्रियुगा नगरपालिकाको वडा नम्बर १४ का वडाध्यक्ष कुरुङ राईले बताए । साउनेको बेसार गुणस्तरीय भएकाले सदरमुकामलगायत राजधानी काठमाडौंसम्म निर्यात भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

 

अदुवा-बेसार जोन सञ्चालक समिति अध्यक्ष मणि खम्बु राईले उन्नत जातको अदुवा र बेसारको बिउ वितरणले उत्पादन बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।