close

हनुमानढोका दरबार क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्त्वलाई महानगरको ताकेता 

हनुमानढोका दरबार क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्त्वलाई महानगरको ताकेता 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले विश्व सम्पदामा सूचीकृत वसन्तपुर हनुमानढोका दरबार क्षेत्र आसपासमा अनधिकृत व्यापार हटाउन पुरातत्त्व विभागलाई ताकेता गरेको छ ।

 

यसअघि काठमाडौं महानगरले १४ माघमा अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्त्वलाई पत्र पठाएको थियो । बारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर नजिक व्यापारिक प्रयोजनमा होटल, रेस्टुराँ र सटर सञ्चालन हुँदै आएको महानगरले जनाएको छ । 

 

महानगरले पुरातत्त्व विभागले चासो नदिएको भन्दै ५ चैतमा पुनः ताकेता गरेको हो । ‘ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्त्वको यो क्षेत्र पहिला परम्परागत र बटुवामैत्री थियो । बटुवा त्यही सतलमा आराम गर्थे’, महानगरप्रमुख विद्यासुन्दर शाक्यले भने, ‘त्यस्तो पुरातात्त्विक ठाउँको महत्त्वलाई जोगाउनुपर्छ भनेर महानगरले विभागलाई व्यापारिक प्रयोजन हटाइदिन आग्रह गरेको हो ।’ 

 

तलेजु मन्दिर आसपास मख्खनतिर पनि बाटो नै ढाकेर व्यापार–व्यवसाय सञ्चालन गरिएकाले खाली गराउन आग्रह गरिएको उनले जानकारी दिए ।

 

शाक्यले भने, ‘हामीलाई जानकारी भएअनुसार पुरातत्त्वले ती स्थान भाडामा लगाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको छ । ऐतिहासिक ठाउँमा मौलिकता कायम गर्दै र बटुवामैत्री हुने गरी अघि बढ्न पटक–पटक मौखिक रूपमा आग्रह ग¥र्यौं । मौखिक रूपमा धेरै पटक भनिए पनि चासो नदेखाएपछि महानगरले लिखित रूपमै पत्राचार गरेको छ । ’

 

सम्पदा क्षेत्रको संरक्षण, मर्मत, जीर्णोद्धार, सम्वद्र्धन गरी प्राचीनता जोगाउनु महानगरको दायित्व रहेको नगरप्रमुख शाक्यले बताए । 


पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले त्यो क्षेत्र पुरातत्त्वको क्षेत्राधिकारभित्र रहेकाले प्रक्रिया पुर्‍याएर हटाइने जानकारी दिए । ‘यो हाम्रो क्षेत्राधिकारभित्रै पर्छ । अहिले त्यो क्षेत्र हनुमानढोका दरबार संग्रहालय विकास समितिले हेरिरहेको छ,’ गौतमले भने, ‘त्यहाँको संरक्षण, मर्मतसम्भारका लागि टिकटबाट उठेको केही रकम महानगरबाट आउँछ । त्यसैगरी कार्यालयमा काम गर्ने कर्मचारीको सेवा–सञ्चालन, तलब–भत्तालगायत त्यहिबाट उपार्जन गर्ने गरी समिति बनाएका हो ।’

 

समितिको नेतृत्व पर्यटन मत्रालयको सचिवले गर्ने व्यवस्था रहेकाले उनको उपस्थितिमा बैठक बसेर जतिसक्दो छिटो प्रक्रिया अघि बढाइने गौतमको भनाइ छ ।