close

किसानलाई पोखरा महानगरको ट्रयाक्टर

किसानलाई पोखरा महानगरको ट्रयाक्टर

Trulli
ADVERTISEMENT

कास्की– कृषिमा यान्त्रिकीकरण गर्ने सरकारको लक्ष्य छ । तर, लक्ष्यअनुसार काम नहुँदा हालसम्म परम्परागत रूपमै खेती हुँदै आएको छ । विस्तारै स्थानीय पालिकाहरूले किसानलाई विभिन्न खाले यन्त्र उपकरणमा सघाउन थालेका छन् । सोही कारण गाउँ–गाउँमा हाते ट्रयाक्टर पुगेका छन् ।

 

पोखरा महानगरपालिकाले पनि बर्सेनि ट्रयाक्टर वितरण गर्दै आएको छ । महानगरको वडा नम्बर १८ किसानले ट्रयाक्टर पाएका छन् ।
व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो । महानगर प्रमुख मानबहादुर जिसीले उनीहरूलाई ट्रयाक्टर वितरण गरे ।

 

करिब ४९ हजार रुपैयाँ पर्ने उक्त ट्रयाक्टरको आधा मूल्य किसानले बेहोर्नेछन् । बाँकी रकम महानगरले सहयोग गर्नेछ । ट्रयाक्टरमा वडा नम्बर १८ को कार्यालयले डेढ लाख, सामुदायिक विकास कोषले १ लाख र भावना कृषि सहकारीले ९३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

 

नगरप्रमुख जिसीले कृषिलाई प्रविधिसँग जोड्न उपकरण सहयोगी हुने बताए । उनले निर्वाहमुखी उत्पादन छाडेर व्यावसायिक बन्न किसानलाई आग्रह गरे ।

 

‘किसानको उत्पादनको बजार महानगरले खोजिदिन्छ । उबेलाजस्तो निर्वाहमुखी होइन, व्यावसायिक रूपमा उत्पादन गर्न थाल्नुस् । उत्पादन खेर जाँदैनन्’, उनले भने । वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले कृषि उत्पादनमा जोड दिएर वडाले किसानलाई सहयोग गर्दै आएको जानकारी दिए ।