close

घाँससँग पैसा साटेर लखपति 

घाँससँग पैसा साटेर लखपति 

Trulli
ADVERTISEMENT

तनहुँ - सेतै फुलेका कपाल र दारीजुँगा । चाउरिएको गाला । कुप्रिएको ढाड । उमेरले ७२ वर्ष टेके पनि बुढ्यौलीले छोएजस्तो देखिँदैनन्, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल । खनालले पशु चौपायालाई खुवाउने घाँसलाई पैसासँग साटिरहेका छन् । घाँस बेचेर दामसँगै नाम पनि कमाइरहेका छन् । 

 

गत असार, साउनमा घाँसका बेर्ना विक्रीबाट मात्रै २० लाख रुपैयाँ आम्दानी गरेको खनाल सुनाउँछन् । ‘भूकम्प गएको वर्ष २२ लाख कमाएको थिएँ । त्यसपछि यसपालि राम्रो कमाइ भयो’, उनले भने । खनालले घाँसे यात्रा कहिले लाखमा चढ्छ त कहिले हजारमा झर्छ । ‘कोरोनाले गर्दा गाउँ फर्किएर धेरैले बाख्रा पाल्न सुरु गरेका छन् । त्यसैले बढी घाँसका बेर्ना बिक्री भएको हो’, उनले भने । २५ पैसादेखि ३० रुपैयाँसम्म बेर्ना बिक्री गर्दै आएको उनले बताए ।

 

खनालले बडहर, राइखनियो, टाँकी, कोइरालो, बकाइने, पाखुरी, चिउरीलगायत डालेघाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो,  बलामेलगायत भुइँघाँसका बेर्ना बिक्री गर्दै आएका छन् ।  घाँसका बेर्ना तनहुँका विभिन्न स्थानसँगै छिमेकी कास्की, लमजुङ, गोरखा, स्याङ्जा, चितवन, पर्वत, म्याग्दीलगायत जिल्लाका किसानले खरिद गर्दै आएका छन् ।

 

गत वर्ष अछाम, डडेल्धुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुरलगायत जिल्लाका किसानले पनि यहाँ उत्पादित घाँसका बेर्ना लैजाने गरेका थिए । तर, यसपालि लकडाउनका कारण ती जिल्लाका किसान नआएको खनाल बताउँछन् ।

 

देशभरका किसान उनको घाँस खेती अध्ययन, अवलोकनका लागि आउने गरेका छन् । नजिकका जिल्लामा आफ्नै गाडीमा  राखेर घाँसका बेर्ना पुर्‍याउँदै आएको खनालले सुनाए । 

 

खनालको घाँसे यात्रा

 

देशभरका किसानका लागि प्रेरणा बनेका उनको यो सफलताको पछाडि लामो संघर्षको कथा छ । २३ वर्षअघि तरकारी खेतीमा रमाएका खनाल तरकारीबाट लागत नपाएपछि घाँसखेतीमा लागेका बताउँछन्  ।

 

‘आफ्नै बारीमा उत्पादित तरकारी दमौली बजारसम्म पुर्‍याएर बिक्री गर्दा गाडी भाडा तिर्न पनि मुस्किल हुन्थ्यो । विदेश जाने मन लागेन । त्यतिबेलै पशु विकास कार्यालय तनहुँले सिफारिस गरेपछि  पोखरामा सात दिने घाँससम्बन्धि तालिम लिने अवसर जुट्यो । त्यसपछि तरकारी छाडेर घाँस खेतीमा लागेको हुँ’, खनालले भने ।

 

तालिमबाट फर्कदा घरमा पालेको गाईलाई खुवाउन नेपियर बेर्ना ल्याएको स्मरण गर्छन्, खनाल । ‘त्यसलाई रोपेको राम्रो भयो । अर्को वर्ष नेपियरको बेर्ना माग आउन थाल्यो । राम्रै आम्दानी भएपछि पैसा त यता पो रहिछ भन्ने लागेर घाँसखेतीलाई अँगालें’, उनले भने ।  

 

अहिले घाँसखेती उनको आम्दानीको मुख्य स्रोत बनेको छ । १ सय रोपनी क्षेत्रफलमा घाँस लगाएका खनालले ६० रोपनी आप्mनै र ४० रोपनी जग्गा भाडामा लिएका छन्  । ‘परम्परागत तरिकाले निर्वाहमुखी भैंसीपालन गर्दा दैनिक परिवारको गुजारा चलाउन धौधौ थियो । भैंसीपालनका लागि कृषि विकास वैंकबाट लिएको क्रृण तिर्न नसक्दा धितोमा राखेको जग्गा लिलामीसमेत भयो’, खनाल विगतलाई खोतल्छन् ।

 

तर, अहिले उहिलेको घटना विगत भइसके । घाँसकै कमाइले थप जग्गा किनेर आफ्नो कर्म क्षेत्र अझ फराकिलो बनाएका छन्, खनालले । ‘आफैंले ८० हजार रुपैयाँमा बेचेको जग्गा पछि १५ लाखमा किनें,’ उनले भने  ।

 

मुलुकभर आधुनिक घाँसीको छवि बनाएका खनालले हजारको लगानीमा सुरु गरेको घाँस खेतीले लखपति बनाएपछि सन्तुष्ट छन् । ‘घाँसले नाम र दाम दुवै दिएकाले सन्तुष्ट नहुने कुरै भएन,’ उनले थपे, ‘पहिला भैंसीपालन गर्दा घाटा भएपछि लिलामीमा गएको जग्गा घाँस खेती गरेपछि फर्काएँ । घाँस बोक्ने गाडी किनेको छु । देशैभरका किसानले वामदेव दाइ भनेर चिन्छन् । यो पनि मेरै सम्पत्ति हो ।’

 

वामदेवलाई देशैभरका किसानले चिने पनि सरकारले भने बेवास्ता गरेको सुनाउँछन्, उनी । ‘अरु बेला चिने पनि अनुदान दिने बेला सरकारले चिन्दैन’, उनले भने, ‘अनुदान दिइहाले पनि कम पाइन्छ ।’ खनालले राष्ट्रिय स्तरको उत्कृष्ट किसानको पुरस्कारसमेत हात पारिसकेका छन् । 


दुई छोराबुहारीको साथ

 

वामदेवले चलाउँदै आएको घाँस खेतीलाई श्रीमतीसँगै माइला र कान्छा छोरीबुहारीले साथ दिँदै आएका छन् । जेठा छोराको परिवारले आफ्नै व्यापार गरेको छ ।  । ‘बच्चैदेखी घाँसको काम गर्दै रमाइयो । अहिले कमाइ राम्रै छ । भविष्यमा पनि राम्रै होला । यो पेसा छाड्ने सोच छैन,’ कान्छा छोरा विनोद भन्छन् ।

 

पछिल्लो समय पशुपालनमा लाग्ने किसान  बढिरहेकाले घाँसको व्यपार फस्टाउँदै जाने उनको बुझाइ छ । अहिले खनाल परिवार घाँस खेतीसँगै पशुपालनमा पनि लागेको छ । खनाल परिवारले कामधेनु गौ फार्म दर्ता गरी उन्नत जातका डेढ दर्जन बढी गाईभैंसी पालेका छन् । यी गाईभैंसीको मलले सय रोपनी जग्गामा पोषिला घाँस बनाउन सघाएको छ ।

वामदेव खनालकाे घाँस खेती

 

मललाई पाइपलाइनबाट सीधै घाँसबारीमा पुग्ने व्यवस्था मिलाइएकाले गोठ पनि सफासुग्घर रहेको खनाल बताउँछन् । ‘दैनिक १ सय ५० लिटर दूध म आफैंले दमौली बजारका ग्राहकसम्म पुर्‍याउने गरेको छु । दूध बिक्रीबाट मनग्य आम्दानी भइरहेको छ’, उनले भने ।

 

घाँसीको प्रेरणाले आदिकवि भानुभक्त आचार्य प्रख्यात बने । भानुभक्तकै जन्मथलो तनहुँमा आधुनिक घाँसीको परिचय बनाएका सफल किसान वामदेव पनि देशभरका किसानका लागि प्रेरणाको स्रोत बनेका छन् ।