close

सिद्धिचरणमा प्रधानमन्त्री रोजगारका ७२ योजना, सबै खुद्रे 

सिद्धिचरणमा प्रधानमन्त्री रोजगारका ७२ योजना, सबै खुद्रे 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– सिद्धिचरण नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत ७२ वटा मर्मतका योजना छनौट गरेको छ । त्यसरी छनौट गरिएका योजनामा अधिकांश सडक मर्मतका रहेका छन् । हैसियत बिग्रेका सडक मर्मत गरेर यातायात सुरु गर्ने, सिंचाइ कुलो मर्मतदेखि मन्दिर मर्मतसम्म रहेको पाइएको छ । 


यसरी ७२ योजनामा चालु वर्षमा नगरपालिकाभित्र ५ सय ४ जनाले १ सय दिनको रोजगारी पाउने छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको मापदण्ड अनुसार आवेदन पेश गरि वडाबाट सिफारिस भएका कामदारलाई नगरपालिकाले सुचिकृत गरेर स्वजगार पाउने सुचीमा सुचिकृत गरेका व्यक्तिले मात्रै त्यस्तो काम पाउने छन् । 


नगरपालिकाका १२ वडामा कामदारको सूची अनुसार बजेट निकासा भएको छ । धेरै कामदार भएको ठाउँमा धेरै र कम कामदार सुचिकृत भएको ठाउँमा सोही अनुसार आएको नगरपालिकाले जनाएको छ । सबैभन्दा धेरै ४३ लाख बजेट वडा नं. ७ विगुटारमा निकासा भएको छ । यहाँ अन्यत्रको तुलनामा बढी कामदार सुचिकृत भएका छन् । सबैभन्दा कम सिद्धिचरण नगरपालिका वडा नं. १२ मा ७ लाख निकासा भएको छ । 


नगर क्षेत्रमा ५ सय ५ जना कामदारलाई न्यूनतम १ सय दिन कामका लागि कूल बजेट २ करोड ६० लाख ५७ हजार निकासा भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक लक्ष्मण पराजुलीले बताए । उनका अनुसार वडा तहबाट आएका कामदारको आवदेनलाई सृचिकृत गरेर मापदण्ड अनुसार सूचि तयार रहेकाले सोही सूचिका व्यक्तिले वडाले छनौट गरेर कार्यपालिकाले तोकिदिएका योजनामा मर्मतको काम हुने छ । 


वडाबाट सडक, कूलदेखि मन्दिर मर्मतसम्मका योजना छनौटमा परेका छन् ।  यस्ता योजनाले स्थानीयले रोजगार पाउने भए पनि कामको सिजनमा शुरु हुने भन्दै स्थानीयको असन्तुष्टि छ । 


सिद्धिचरण नगरपालिका वडा नं. ७ का छन्दविनोद घिमिरेले खेतिपातिको सिजनमा विकास र रोजगारका कार्यक्रम ल्याउँदा किसानलाई समस्या पर्ने बताउँछन् । उनले यस्ता कार्यक्रम ल्याउँदा किसानको खेतीको सिजन सकिएको अथवा शुरु हुनुपूर्व ल्याउनु पर्ने सुझाव दिए ।