close

भारतमा कोरोना फैलिँदा खोटाङदेखि मुगुसम्म सुरक्षा सतर्कता 

भारतमा कोरोना फैलिँदा खोटाङदेखि मुगुसम्म सुरक्षा सतर्कता 

Trulli
ADVERTISEMENT

भारतमा कोरोना महामारी पुनः बढेपछि  देशभर सुरक्षा सतर्कता अपनाइएको छ । छिमेकी भारतमा दिनानुदिन संक्रमितको संख्या थप भइरहेको तथा मृत्युदर वृद्धि भइरहेको अवस्थामा खुला सीमाका कारण संक्रमितको सहज आउजाउ हुँदा संक्रमण भित्रिने खतरालाई लक्षित गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको बैठकले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो । 

 

गृह मन्त्रालयको ९ फागुनको पत्र तथा स्वास्थ्य मन्त्रालयको ८ फागुनको प्रेस विज्ञप्तिमार्फत नागरिकलाई सजग र सतर्क रही जनस्वास्थ्यको मापदण्ड पालना गराउन अनुरोध गरिएबमोजिम कोरना संक्रमण बढ्न नदिन सतर्कता अपनाउने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । 

 

पुराना क्वारेन्टाइन र आइसोलेसन पुनः ब्युँताइने

 

कोभिड संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोभिड–१९ संक्रमणको सम्भावनालाई दृष्टिगत गरी यसअघि माटिकोरेस्थित कभर्ड हलमा स्थापना गरिएको क्वारेन्टाइन र जिल्ला अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डलाई तयारी अवस्थामा राख्ने, जिल्लाका स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयले आवश्यक तयारी गर्ने, सबै स्थानीय तहको स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवा थप प्रभावकारी बनाउने निर्णय गरेको छ । 

 

विदेशबाट आउनेलाई होम क्वारेन्टाइन अनिवार्य 

 

बैठकमा विदेशबाट जिल्ला प्रवेश गर्ने व्यक्तिको अभिलेख सम्बन्धित स्थानीय तहले राख्ने र सोसम्बन्धी जानकारी प्रशासनलाई उपलव्ध गराउने, विदेशबाट आएर जिल्ला प्रवेश गर्नेलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

 

यस्तै, सेवा प्रवाहका क्रममा सेवाप्रदायक तथा सेवाग्राही सबैले मास्क अनिवार्य प्रयोग गर्ने, समय–समय स्यानिटाइजर लगाउने तथा साबुन–पानीले हात धुने व्यवस्था मिलाउने, बैठक, सेमिनार गर्दा भौतिक दूरी तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्ने/गराउने निर्णय गरिएको छ । 

 

रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसाय जनस्वास्थ्यका मापदण्ड तथा भौतिक दूरी कायम गरी बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने, घरबाहिर निस्कनुपरे अनिवार्य मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका लागि नागरिकलाई सचेत गराउने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई नियन्त्रणमा लिएर संक्रामक रोग निवारण ऐन, २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । 

 

स्वास्थ्य कार्यालयले कोभिड–१९ को परीक्षण गराई संक्रमणको अवस्था पहिचान गर्ने, त्यसका लागि स्वास्थ्य कार्यालयले कोभिड–१९ को एन्टिजिन परीक्षणका लागि पहल गर्ने, कोभिड–१९ संक्रमण थप फैलिन नदिन जनचेतनामूलक सन्देश प्रसारण गर्न सञ्चार माध्यमलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिइएको छ । 

 

भीडभाड नगरी होली मनाउन आग्रह 

 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले आउँदै गरेको होली अवसरमा भीडभाड नगरी भौतिक दूरी कायम गरी घरमै बसेर परिवारका सदस्यबीचमा मात्र मनाउन आग्रह गरेको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाललगायतको उपस्थिति थियो । 

 

मुगुमा पनि सतर्कता 

 

कोरोना संक्रमण बढ्न सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालय मुगुले पनि स्वास्थ्य सुरक्षा मापदण्डसहित सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढ्ने देखिएपछि सजग रहन स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम मुगु प्रशासनले आग्रह गरेको हो । 

 

बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मुगुले कोरोनाविरुद्ध लड्न सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीद्वारा हस्ताक्षरित सूचनामा अति आवश्यक कामबाहेक जिल्लाभित्र भीडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह सञ्चालन नगर्न आग्रह गरिएको छ । 

 

कोभिडको लक्षण देखिए तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन र जिल्लाका ४ वटै स्थानीय तहमा संक्रमणको सम्भावनालाई दृष्टिगत गर्दै क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

 

त्यस्तै, मेला महोत्सव, होली, नयाँ वर्षजस्ता चाडपर्वमा भीडभाड नगर्न, मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसाय राति ९ बजेपछि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । 


जिल्ला भित्रिनेको स्वास्थ्य परीक्षण 

 

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वास्थ्य परीक्षण गरिने भएको छ । 

 

हेल्प नेपाल नेटर्वक र हेल्प नेपाल हेल्थपोस्ट रारा माझघट्ट मुगुको सहकार्यमा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई मिलीचौरमा घुम्ती शिविर चलाएर स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।