close

६३ वर्षपछि जब खण्डहर पोखरीमा पानी टिलपिल भरियो...

६३ वर्षपछि जब खण्डहर पोखरीमा पानी टिलपिल भरियो...

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको निगु पुखुमा ६३ वर्षपछि पानी भरिएको छ । कुनै समय स्थानीय बालबालिका पोखरीमा खेल्थे । पोखरीभरि झार र घाँसले भरिभराउ हुन्थ्यो । सोही घाँस र झारलाई सफा गरी स्थानीयले धान सुकाउँथे । 

 

३ सय वर्ष पुरानो ऐतिहासिक पोखरीको नामोनिशान हट्ने स्थितिमा थियो । तर, स्थानीयको चासोसँगै नगरपालिकाको सहयोगले पोखरीले पुनर्जीवन पाएको छ । 

 

अहिले पोखरीमा न कुनै झार देखिन्छ, न त खेल्ने बालबालिका नै । अब पोखरीभरि पानी । वरिपरि आकर्षक बुट्टेदार काष्ठकला । सुन्दर राता इँटाहरूको शृंगारसँगै कुँदिएका आकर्षक सजावट पोखरीमा देख्न सकिन्छ । 

 

आउँदै गरेको विस्का जात्रालाई दृष्टिगत गरी नगरपालिकाले पोखरीमा पानी भरेको हो । परीक्षणका रूपमा १ साताअघि पालिकाले पानी भरेको थियो ।

 

तर, पानी चुहिएपछि पुनर्निर्माण गरी बुधबार पुनः भरिएको हो । नेपाल भाषामा निगु पुखुः अर्थात् दुई पोखरीले परिचित पोखरी अब आफ्नै परम्परागत शैलीमा फर्किएको छ । 

 

थिमि नगरपालिकाको वडा नम्बर ४ मा रहेको पोखरी पुनर्निर्माणका लागि करिब २५ करोड रुपैयाँ लागत अनुमान गरी नगरपालिकाले उपभोक्ता समितिमार्फत काम थालेको थियो । निगु पुखुःका २ पोखरीमध्ये एउटा पोखरी पुनर्निर्माण सम्पन्न गरी पानी भरेको नगरपालिकाले सँगैको अर्को ठूलो पोखरीको पनि परम्परागत शैलीमा पुनर्निर्माण गरी पुरानै स्वरूपमा फर्काएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

 

‘परीक्षणको रूपमा गत वर्षको विस्का जात्रामा एउटा सानो पोखरीमा पानी जम्मा गरेका थियौँ । अर्को ठूलो पोखरी पनि पुनर्निर्माण सकेर आउँदो विस्का जात्रामा पानी भर्ने काम सम्पन्न भएको छ । पोखरीले नयाँ स्वरूप र नयाँ जन्म पाएको छ,’ उनले भने ।

 

पानी नसुकोस् भनेर पोखरी निर्माणका क्रममा पीँधमा कालीमाटो ६ इन्च, त्यसमाथि ३ इन्च पाँगो माटो अनि त्यसमाथि पुनः ६ इन्च कालीमाटो राखेर र डाँची अप्पा इँटा ओछ्याएर परम्परागत शैलीमा डाँची अप्पामा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनर्निर्माण गरिएको उनले जानकारी दिए ।

 

निगु पुखुः संरक्षणका लागि नगरपालिकाले २०७५ देखि २०७६ चैतसम्म १ करोड २५ लाख रुपैयाँ खर्च गरेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनर्निर्माणका लागि आव २०७६÷७७ मा नगरपालिकाले १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

नगरप्रमुख श्रेष्ठले पोखरीको जीर्णोद्धार गरेर पानी भर्न करिब ३ करोड रुपैयाँ खर्च भएको जानकारी दिए ।

 

दक्षिणतर्फको पोखरीभन्दा २ गुणा ठूलो उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्धारका लागि बागमती प्रदेश सरकारबाट करिब ३९ लाख रुपैयाँ बजेट आएको थियो । दक्षिणतर्फको पोखरी ५ फिट गहिरो छ भने उत्तरतर्फको पोखरी ७ फिट गहिरो बनाइएको छ ।

 

पुनर्निर्माण सम्पन्न गरेर पानी भरेपछि ठूलो पोखरीमा डुंगा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गरिने नगरप्रमुख श्रेष्ठले बताए ।

 

स्थानीयको पानीको मुख्य स्रोतमा समेत रहेको निगु पुखुःमा पानी जम्मा गर्न अकासे पानीलाई प्रशोधन गर्ने योजना पालिकाको छ । पोखरीमा मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरी योजना बनाइएको छ । 

 

३ वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरी नगरपालिकाले कुल १५ करोड रुपैयाँ लागतसहितको गुरुयोजना निर्माण गरेको थियो । 

 

पोखरीलाई सम्पदा क्षेत्रको केन्द्रमा राख्न पोखरी वरिपरि फल्चा अर्थात् पार्टी निर्माण गरिनेछ । पोखरीमा आउन कालोपत्रे उप्काएर ढुंगा छाप्ने काम भइरहेको छ ।


स्थानीयका अनुसार करिब ३ सय वर्ष पहिले गंगा महारानीले २ वटा पोखरी स्थापना गरेकी थिइन् । थिमिलगायत बनेपाका कृषकले पोखरीमा भएको पानीको आधारमा धान रोपाइँ र फलाइको मापनसमेत गर्थे । 

 

२०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा २ वटा पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठ बताउँछन् । 

 

‘गाविस हुँदासम्म पोखरीमा पानी थियो । नगरपालिका भएदेखि कसैको ध्यान गएन,’ श्रेष्ठले भने, ‘पोखरी सुक्यो । पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो । अहिले जनप्रतिनिधि आएपछि संरक्षण थाल्यौँ । अब पुरानै अवस्थामा फर्किन्छ ।’


पोखरी संरक्षणका लागि पटक–पटक तारबार लगाउने काम भए पनि संरक्षण हुन सकेको थिएन । अब भने पोखरीले पुनर्जीवन मात्रै होइन, स्थानीयका धारामै पानीको मुहान लैजाने गरी संरचना बनेको छ ।