close

मंगलाभरिका गाईगोठमै पुगेर पशुलाई सुई लगाइँदै 

मंगलाभरिका गाईगोठमै पुगेर पशुलाई सुई लगाइँदै 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिकामा पशुको पूर्ण खोप अभियान सुरु भएको छ । 

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले मंगला गाउँपालिकासँगको समन्वयमा कृषकले पालेका सबै पशुलाई गोठमै पुगेर खोप लगाउन थालेको हो ।

 

बाबियाचौरमा मंगलबार सुरु गरिएको अभियानअन्तर्गत बिहीबारदेखि पशु सेवा र स्वास्थ्य प्राविधिक पशुलाई खोप लगाउन परिचालन भएका छन् । 

 

गाईभैँसी, भेँडाबाख्रा, कुकुर, बंगुरलाई लाग्ने विभिन्न रोगविरुद्ध निःशुल्क खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक सुभास रेग्मीले बताए । 

 

‘खोप लगाएर पशुलाई रोगबाट बचाउने, पशुधनको सुरक्षा, मानवीय असर र हानि कम गरी गुणस्तरीय पशुजन्य वस्तु उत्पादन गर्ने उद्देश्यले अभियान सुरु गरेका हौँ’, उनले भने, ‘अभियानले पशुलाई पनि विभिन्न रोगबाट बचाउन खोप लगाउनुपर्ने सन्देश नागरिकमा प्रवाह हुने अपेक्षा गरेका छौँ ।’ 

 

गाईभैँसीलाई खोरेत, भ्यागुते र चरचरे, कुकुरलाई रेबिज, बंगुरलाई स्वाइन फिबर, भेँडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाउन लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख इन्द्रबहादुर भट्टले मंगलाका ५ वटै वडाका कृषकले पालेका १३ हजार ६ सय बढी पशुलाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिए । 

 

५ वटा वडामा पशुलाई खोप लगाउन १० जना प्राविधिक परिचालन भएका छन् । खोपसहित प्राविधिक कार्यक्षेत्र खटिएका हुन् । गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, भूमि, व्यवस्था तथा कृषि मन्त्रालयका पशु विकास अधिकृत सहदेव पौडेलको उपस्थितिमा अभियान सुरु गरिएको थियो । 

 

पशुलाई खोप लगाएका कृषकलाई कार्ड उपलब्ध गराइनेछ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ११ वटै जिल्लाका १/१ वटा स्थानीय तहमा पशुलाई पूर्ण खोप लगाउने कार्यक्रम सञ्चालन गरेको छ ।