close

गण्डकीका स्थानीय तहमा लगानी गर्ने नगर विकास कोषको घोषणा

गण्डकीका स्थानीय तहमा लगानी गर्ने नगर विकास कोषको घोषणा

Trulli
ADVERTISEMENT

कास्की– स्थानीय सरकार श्रोत, जनशक्ति, कानून लगायतका अभावकाबीच जसोतसो विकासे योजना सञ्चालन गरिरहेका बेला स्रोतमा सहकार्य गर्न नगर विकास कोष गण्डकी प्रदेश पुगेको छ । 

 

गण्डकी प्रदेशभरका एउटा महानगरसहित २७ वटा नगरपालिकाको सहभागितामा कोषले प्रादेशिक कार्यशाला गोष्ठीको आयोजना गर्दै नगरका योजनामा लगानीका सम्भावनामा गहन छलफल चलाएको छ । 

 

स्थानीय सरकारलाई बजेट लगानी गर्नुपूर्व नगर सरकारको योजना पहिचान, व्यवस्थापन लगायतमा क्षमतामा विकास गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

 

देश कागजमा लेखिएका अक्षरले मात्रै परिवर्तन नआउने भन्दै मुख्यमन्त्री गुरुङले सोच र शैलीमा परिवर्तन नल्याई समृद्धि सम्भव नभएको बताए । 

 

नगर सरकारलाई पूर्वाधारमा लगानीसँगै व्यवस्थापनमा क्षमता विकास गर्नु नगर विकास कोषको प्रमुख दायित्व रहेको कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले बताए । यसका लागि कोष अब निगममा रुपान्तरण हुन लागेकोले यसलाई अपनत्व लिइदिन नगर सरकारसँग सापकोटाले अनुरोध गरे । 

 

नगर सरकारलाई ऋण प्रवाह गर्ने सरकारी तहको ठूलो र एउटै निकाय नगर विकास कोष भएकाले प्रत्येक पालिकालाई लगानी गर्न कोष इच्छुक रहेको कार्यकारी निर्देशक सापकोटाको भनाइ छ । 


पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विगतमा कोषले खानेपानीका क्षेत्रमा गरेको लगानीबाट प्राप्त प्रतिफल उत्कृष्ट रहेको भन्दै कोषलाई धन्यवाद दिए । 

 

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले ऋण लगानीबाट निर्माण हुने पूर्वाधार छनौटमा विशेष ध्यान दिन पालिका सरकारलाई आग्रह गरे । नगरपालिका वित्त तथा क्षमता विकास (एम्एफसिबी) कार्यक्रममार्फत नगर विकास कोषले मुलुकभरका १५ वटा पालिकामा सञ्चालित पाइलट प्रोजेक्टको उपलब्धि तथा चुनौतिका विषयमा पनि छलफल गरेको छ । 

 

गोष्ठीमा नगर सरकारले कोषसँग ऋण लिन दिनुपर्ने आवेदन, लगानी गर्ने दायरा तथा सिलिङ, प्रक्रिया आदिका बारेमा समेत जानकारी दिइएको कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले जानकार दिए ।