close

नगर विकास कोषको प्रशिक्षणमा मुख्यमन्त्रीको उद्घोषः जिसस खारेज गरे हुन्छ

नगर विकास कोषको प्रशिक्षणमा मुख्यमन्त्रीको उद्घोषः जिसस खारेज गरे हुन्छ

Trulli
ADVERTISEMENT

कास्की– पोखरामा नगर विकास कोषको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण भएको छ । कोषले गर्ने लगानी, नगरपालिका हरुका प्राथमिकता र त्यसको संयोजनमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम गरिएको हो । 


कार्यक्रममा पोखरा महानगरपालिका सहित २७ नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरहरु सहभागी छन् । 


कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नगर विकास कोषले नेपालको माटो सुहाउँदो काममा लगानी गर्न सुझाए । ‘हाम्रा एजेण्डाहरु विदेशी संस्थाबाट गाईडेड हुन्छन् । हाम्रो आवश्यक्ता भन्दा उनीहरुको चाहना अनुसार खर्च हुन्छ,’ उनले भने, ‘नेपालका विज्ञहरुको दासत्व प्रवृत्तिले दीगो विकास र गुणस्तरीय काम हुन सकेन ।’ 


उनले नगर विकास कोषले फाउण्डेसनको काम गर्नुपर्ने बताए । ‘कहिलै काम नगरेका मान्छेहरु निर्वाचित भएका छन् । सबै संरचना नयाँ छ,’ उनी भन्छन्, ‘मेयर उपमेयरको क्षमता विकास गर्न कोषले काम गरोस् । फाउण्डेसन बनाउने काममा सहयोग गरोस् ।’ गुरुङले संघ सरकारको सहयोग नपाएको दोहोर्‍याए । 


‘४८ हजार कर्मचारी संघमा छ । स्थानीय र प्रदेश सरकार कर्मचारी नभएर फिटिफिटी भएका छन्,’ उनले थपे, ‘संघीयता सफल बनाउन सहयोग नगर्ने अनि व्यवस्था खराव भनेर गाली गर्न थालियो । संघीय व्यवस्था खर्चिलो भन्न थालेका छन् ।’ 


मुख्यमन्त्री गुरुङले संघ सरकार संघीयता सफल बनाउने काममा सहयोग नगरेको प्रायः सबैजसो फोरमहरुमा बोल्दै आएका छन् । संघीयता भन्दा पुरानो मानसिकता बढी महंगो भएको उनको तर्क छ । ‘खर्च धान्न नसके प्रदेश स्तरमा एउटा राखेर बाँकी उच्च अदालतहरु बन्द गरिदिउँ । जिल्ला समन्वय समिति खारेज गरे पनि हुन्छ,’ उनले भने,‘नेताहरुको हाइसन्चोका लागि व्यवस्था ल्याएको कि जनताको सेवाका लागि ? जनताका सेवाका लागि हो भने, जिसस चाहिँदैन ।’ यो व्यवस्था सबैभन्दा सस्तो भएको उनको जिकिर छ । 

 

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्यन्जुले शहर अर्थतन्त्रको इन्जिन भएकोले त्यसलाई राम्रोसँग चलाउनुपर्ने बताए । ‘शहर भनेकै अर्थतन्त्रको इन्जिन हो । यहाँ नयाँ नयाँ आविष्कार हुन्छन्,’ उनले भने,‘त्यसैले त यहाँको विकास छिटो हुन्छ । आर्थिक गतिविधि चलायमान हुन्छ ।’ 

 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोषको व्यवस्था बदलेर बढी उपयोगी बनाउनुपर्ने सुझाव दिए । कोषका सदस्य समेत रहेका उनले भने, ‘कसैलाई दिएको पैसा पनि खर्च गर्दैन । कसैले पैसा नभएर काम गर्न पाएको छैन । यो मिलाउनुपर्छ ।’ शहरी पूर्वाधार विकासमा वित्तीय र प्राविधिक सहयोग गर्न २०४५ सालमा नगर विकास कोष स्थापना भएको हो । सुरुमा यो समितिको रुपमा थियो । 


स्थापनादेखि हालम्म १२ सय भन्दा बढी आयोजनामा ९ अर्व ६१ करोड ऋण र २ अर्व २९ करोड अनुदान सहयोग गरिसकेको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।