close

सय बढी लघु उद्यमी तयार पार्दै कपुरकोट 

सय बढी लघु उद्यमी तयार पार्दै कपुरकोट 

Trulli
ADVERTISEMENT

सल्यान– सल्यानको कपुरकोट गाउँपालिकाले ९६ जनालाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत व्यवसाय तथा लैंगिक सचेतना तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

 

१ सय २ जना लघु उद्यमी सिर्जना गर्ने उद्देश्य गाउँपालिकाको छ । यसका लागि अब छिट्टै १ सय १८ जना लाई विभिन्न प्राविधिक सीप विकास तालिम प्रदान गरिने उद्यम विकास कार्यक्रम संयोजक दीपेन्द्रकुमार शाहीले बताए । 

 

यो वर्ष उद्यमशीलता तालिम प्राप्त गरेका ९६ जना र गत आवमा कोरोना महामारीका कारण बाँकी रहेका २२ जना गरी १ सय १८ जनालाई विभिन्न प्राविधिक सीप विकास तालिम दिइनेछ । 

 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत संघीय सरकारको ससर्त अनुदान र गाउँपालिकाको साझेदारीमा गत २८ माघदेखि ८ चैतसम्म मेड्पा मोडलअन्तर्गत तालिम सञ्चालन गरिएको थियो । 

 

व्यवसायसम्बन्धी ज्ञान दिने उद्देश्यका साथ सञ्चालन गरिएको तालिममा स्थानीय स्तरमा कच्चा पदार्थको उपलब्धता, व्यवसाय सञ्चालनमा अपनाउनुपर्ने तरिका, उत्पादित वस्तुको बजार आदि विषयमा अभिमुखीकरण गरिएको थियो ।

 

ग्राहक आवश्यकता, माग, नाफा–घाटा, व्यावसायिक योजना आदिबारे उद्यम विकास सहजकर्तामार्फत तालिम प्रदान गरिएको कपुरकोट गाउँपालिकाका उद्यम विकास कार्यक्रम संयोजक शाहीले जानकारी दिए । उनका अनुसार स्थानीय स्तरमा उपल्बध कच्चा पदार्थको प्रयोग गर्दै लक्षित वर्गको मागअनुसार लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ । 

 

लघु उद्यमी सिर्जना मेड्पा मोडलअन्तर्गत सामाजिक परिचालन, उद्यमशीलता विकास तालिम, प्राविधिक सीप विकास तालिम, वित्तीय सेवामा पहुँच तथा बजारीकरण एवं व्यवसाय परामर्श आदि विषयमा अभिमुखीकरण गरिएको हो ।
 
लघु उद्यम विकास कार्यक्रमअन्तर्गत गत अन्तिम ३ वर्षका ४० जना उद्यमीलाई थप सीप विकास तालिम र आवश्यकताका आधारमा प्रविधि हस्तान्तरणसहित स्तरोन्नति गरिने संयोजक शाहीले बताए ।