close

रित्तो हात किन फर्किए ऊर्जामन्त्री रायमाझी ?

रित्तो हात किन फर्किए ऊर्जामन्त्री रायमाझी ?

Trulli
ADVERTISEMENT

उदयपुर(कटारी)– सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन विस्तार गर्न उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मा जारी अवरोध हटाउन उदयपुर आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझी स्थानीयको विरोधपछि रित्तो हात फर्किएका छन् ।

 

बिहीबार दिउँसो हेलिकोप्टरबाट कटारी आएर अवरोध हुँदै आएको क्षेत्र मरुवामा पुगेका मन्त्री रायमाझीविरुद्ध स्थानीयले नाराबाजीसमेत गरेका थिए । 

 

स्थानीयले नाराबाजी गर्दै लखेट्न थालेपछि मन्त्रीलाई प्रशासन र सुरक्षाकर्मीले १ घन्टा सुरक्षामा राखेर मरुवाबाट नगरपालिकातर्पm सुरक्षित स्थानमा लगेका थिए ।

 

स्थानीयलाई मन्त्रीसँग समस्या समाधानबारे नगरपालिकामा छलफलका लागि आमन्त्रण गरिए पनि उनीहरू त्यहाँ गएनन् । मन्त्री गाउँ पुगेलगत्तै स्थानीयले घरबास उठ्ने भन्दै करिडोरको टावर गाउँमा राख्न नदिने र जंगलबाट लैजान रुट परिवर्तन गर्नुपर्ने माग राखे ।

 

मन्त्री रायमाझीले सबैलाई सन्तुष्ट बनाएर सोही रुटबाट टावर गाडिने र अवरोध भए थप सुरक्षाकर्मी लगाएरै काम अगाडि बढाइने अन्यत्रको उदाहरण दिएपछि स्थानीय आक्रोशित भएका थिए । 

 

आक्रोशित स्थानीयको भीड छिचोल्न मुस्किल परेका मन्त्री रायमाझीलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित ठाउँमा पु¥याएको नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । लामो छलफलपछि मात्रै मन्त्री मरुवाबाट निस्कन सफल भएका थिए ।

 

कृष्ण थापा, डाकबहादुर थापालगायतले स्थानीयका समस्या मन्त्रीसमक्ष राख्दै टावरको रुट परिवर्तन गर्न माग गरेका । कटारी नगरपालिकाको वडा नम्बर ४ मरुवास्थित मरुवा हरित सामुदायिक वन उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण २ वर्षयता रोकिएको छ । 

 

स्थानीयले उक्त क्षेत्रमा टावर राखिए क्षति पु¥याउने हुँदा अन्यत्रैबाट लैजानुपर्ने र बस्तीमा कुनै पनि हालतमा निर्माण गर्न नदिने बताउँदै आएका छन् । 

 

लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक–पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।

 

निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

 

सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । यसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । 

 

कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) तान्ने कामसमेत सकिएको छ । उक्त प्रसारण लाइन निर्माणपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

 

नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । कटारीको वडा नम्बर ४ मरुवाका स्थानीयले गाउँमा पर्ने ९ वटा टावर राख्न दिएका छैनन् ।