close

विद्यालयमा अदालत ! 

Trulli
ADVERTISEMENT

खोटाङ– न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि जिल्ला अदालत खोटाङले समुदायमा अदालत कार्यक्रम गरेको छ । 

 

गाउँ–गाउँ र जनजनसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालतले दिक्तेलको पञ्च माविमा समुदायमा अदालत कार्यक्रम गरेको हो ।

 

अदालतको न्यायिक प्रक्रियाबारे नागरिकलाई सुसूचित गर्दै जनता र अदालतबीचको दूरी कम गर्ने लक्ष्यका साथ समुदायमा अदालत कार्यक्रम गरिएको जिल्ला अदालतका स्रेस्तेदार उपसचिव रमाकान्त यादवले बताए ।

 

पञ्च माविमा कानुन विषय अध्ययनरत विद्यार्थी, अभिभावकलगायतलाई सहभागी गराएर समुदायमा अदालत कार्यक्रम गरिएको हो । कार्यक्रममा अदालतले उपलब्ध गराउने सेवा, यसको प्रक्रिया एवं अदालतप्रति समुदायको जिज्ञासाबारे छलफल गरिएको थियो । 

 

न्यायपालिकाले सम्पादन गर्ने कार्य तथा न्याय सम्पादन प्रक्रियालाई जनमानससम्म पुर्‍याएर न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन समुदायमा अदालत कार्यक्रम आयोजना गरिएको स्रेस्तेदार यादवले जानकारी दिए ।

 

‘न्यायप्रतिको नागरिकको गुनासो सुन्ने, जनताको न्यायमा पहुँच पुर्‍याउने र न्यायलाई पारदर्शी बनाउने लक्ष्यका साथ समुदायमा अदालत कार्यक्रम गरिएको हो,’ स्रेस्तेदार यादवले भने, ‘बिचौलिया नियन्त्रण गर्ने, न्याय सम्पादनबारे समाजको धारणा बुझ्ने, जनता र अदालतबीचको ‘ग्याप’ पूर्ति गर्ने, न्यायप्रति आस्था र विश्वास बढाउने हाम्रो लक्ष्य हो ।’ 

 

कार्यक्रममा जिल्ला अदालतबाट सम्पादन भएका सेवा, मुद्दा तथा रिटको फस्र्योट एवं बाँकी विवरण, मेलमिलाप आदिबारे सहभागीलाई जानकारी दिइयो । न्याय प्रणालीसम्बन्धी जानकारी विद्यार्थीमार्फत अभिभावकसम्म पु¥याउने लक्ष्यका साथ अदालतले छात्र÷छात्रालाई प्राथमिकतामा राखेर समुदायमा अदालत कार्यक्रम आयोजना गरेको हो ।

 

कार्यक्रममा स्रेस्तेदार यादव र जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता रमेश भट्टराईको प्रस्तुतिमाथि छलफल गरिएको थियो । अदालतको रणनीतिक योजनाअनुसार समुदायमा अदालत कार्यक्रम गरिएको हो । 

 

क्रमशः जिल्लाका अन्य स्थानमा पनि समुदायमा अदालत कार्यक्रम सञ्चालनको तयारी भइरहेको जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए । 

 

प्रदेश १ का सामुदायिक विद्यालयमध्ये पञ्च माविले पहिलोपल्ट कानुन विषयको पठनपाठन सुरु गरेको आधारमा अदालतले सोही विद्यालयमा समुदायमा अदालत कार्यक्रम आयोजना गरेको जनाएको छ ।

 

कार्यक्रममा वडाध्यक्ष टंक आचार्य, वडा सदस्य प्रकाश श्रेष्ठ, नेपाल बार एसोसिएसनका प्रतिनिधि कुँवेरकाजी राई, वैतनिक वकिल देवराज थुलुङ, पञ्च माविका प्रअ भवकृष्ण ढकाल, अधिवक्ता ओमप्रकाश घिमिरेलगायतले बोलेका थिए ।