close

बाँकेको सीमा नाकामा कडाइ

बाँकेको सीमा नाकामा कडाइ

Trulli
ADVERTISEMENT

बाँके– भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै नेपाल–भारत सीमाको जमुनाह नाकामा शुक्रबारबाट चेकजाँचमा कडाइ गरिएको छ ।

 

भारतमा कोरोना बढेपछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवाङले जानकारी दिए । सामान्य किनमेलका लागि भारत जान पूर्ण रूपले रोक लगाइएको उनले बताए ।

 

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पत्र आएलगत्तै नेपाल–भारत सीमामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण सुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको छ । 

 

शुक्रबारदेखि उपचार वा अति आवश्यक कामबाहेक सीमापारि सामान किनमेल र अन्य सामान्य कामले आउजाउ गर्नेलाई रोकिएको छ । यद्यपि सीमापारिबाट नेपाल आउनेको घुइँचो बढ्दै गएको छ ।

 

भारतबाट आउनेहरूलाई लक्षित गरी जमुनाह नाकामा हेल्थ डेस्क राखेर शंका लागेकाहरूको ‘एन्टिजिन’ परीक्षण सुरु गरिएको छ ।

 

शुक्रबार भारतको गुजरातबाट फर्किएका रोल्पा लिवाङका १ जना युवकमा ‘एन्टिजिन’ परीक्षणको माध्यमबाट कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

 

कोरोना संक्रमण फैलिएका ठाउँबाट फर्किएका नेपालीको एन्टिजन परीक्षण गर्ने क्रममा ती युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए । उनले ती युवकमा लक्षण नभएका कारण एम्बुलेन्समा राखेर रोल्पा पठाइएको उनले जानकारी दिए ।


 
सीमा क्षेत्रमा भारतबाट फर्कनेको घुइँचो बढेसँगै संक्रमण फैलन सक्ने आशंकामा सीमा क्षेत्रमा नेपालगन्ज उपमहानगरको पहलमा हेल्थ डेस्क राखेर शंकास्पद व्यक्तिलाई जाँच गरी पठाउने गरिएको नेपालगन्ज उपमहानगरले बताएको छ ।