close

घरघरमै पुगेर बेलवारीको प्रश्नः उद्यमी बन्ने हो ? 

घरघरमै पुगेर बेलवारीको प्रश्नः उद्यमी बन्ने हो ? 

Trulli
ADVERTISEMENT

मोरङ– रोजगारीका लागि ऋण काढेरै विदेसिनुपर्ने धेरै युवाको बाध्यता छ । आफ्नै देशमा रोजगारीका अबसर सिर्जना नहुदाँ युवाहरू विदेसिने गरेका छन् ।

 

तर, रोजगारीका लागि देश छाड्ने युवाको भीडमा मोरङको बेलबारी नगरपालिकाले उद्यमी हुन चाहने युवा खोजिरहेको छ । 

 

नगरपालिकाले युवालाई उद्यमी बनाउन तालिम, औजार, कच्चापदार्थ मात्रै होइन, उनीहरूले उत्पादन गरेका वस्तुसमेत खरिद गरिदिनेछ । एक वडा एक उत्पादनको नीति लिएको नगरपालिकाले महिला तथा पुरुषलाई उद्यमी बनाउन तालिम दिएर उपकरणसमेत दिने गरेको छ ।

 

‘हामी आफंै कस्तो उद्यम गर्नुहुन्छ भनेर सोधीसोधी उद्यमशीलतासम्बन्धी तालिम तथा औजार वितरण गरिरहेका छौँ’, नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भने, ‘उहाँहरूले उत्पादन गरेका वस्तुसमेत खरिद गरिदिन्छौ । उद्यमीले उत्पादन गरेका वस्तु विदेशमा लगेर डलरमा बिक्री गराउँछौँ ।’
 
देशमै काम गर्न चाहनेलाई सरकारले केही रकम तथा प्रविधिमा लगानी गरिदिए सहयोग पुग्ने उद्यमी बन्न चाहनेहरूको माग छ । नगरपालिकाले गरिबी निवारणका लागि उद्यम विकाससम्बन्धी कार्यक्रम गरिरहेको छ ।

 

उक्त कार्यक्रममार्फत युवालाई तालिम तथा उपकरण वितरण गरिरहेको हो । यस आर्थिक वर्षमा १ सय जनालाई उद्यमी बनाउने लक्ष्य लिएको गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमका कार्यक्रम संयोजक विनोद दाहालले बताए । 

 

नगरपालिको सहयोगपछि उद्यम बनेकाहरू 


नगरपालिकाले प्रोत्साहन गरेसँगै उद्यमी बनेकाहरू सन्तुष्ट देखिन्छन् । बेलबारीको वडा नम्बर ८ का तारा सापकोटा नर्वे जाने तयारी अवस्थामा थिए । उनको भिसासमेत लागिसकेको थियो । 

 

उनलाई एजेन्टले १३ लाख रुपैयाँ ठिक्क पारेर आउन भनेका थिए । एजेन्टले भनेअनुसार ऋण खाजेर पैसासमेत तयार पारेका थिए, सापकोटाले ।

 

त्यही बेला नगरपालिकाको नगरसभाले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्यायो । सापकोटालाई नगरपालिकाले ल्याएको बजेट जान्न र बुझ्न मन लाग्यो । 

 

उनी नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न गए । २–३ कठ्ठा जमिनमा ड्रयागन फ्रुट खेती गर्न मन भए पनि नर्वे जान तयार भएको कुरा उनले नगरप्रमुख र प्रशासकीय अधिकृतलाई सुनाए ।

 

नगर प्रमुख, उपप्रमुखले १० कठ्ठा जमिनमा खेती गर्नुस्, नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सापकोटाले भने, उहाँहरूको कुराले म प्रभावित भएँ । कताकता विदेशको मोह एक्कासि कम हुँदै गयो । आफ्नै माटोमा भविष्य खोज्ने निर्णय गरेँ ।’

 

सापकोटा वैदेशिक रोजगारीमा जानका लागि तयार गरेको १३ लाख रुपैयाँ ड्रयागन खेतीमा लगानी गर्न तयार भएर अहिले आफ्नै माटोमा परिश्रम गरिरहेका छन् । 

 

बेलबारीको वडा नम्बर १० का शेरबहादुर विकले लामो समय साउदी, दुबईजस्ता देशमा आफ्नो पसिना बगाए । उनले आफ्नो सीपलाई लगानी नहुँदा विदेशमा लगानी गरे पनि सोचेजस्तो उत्पादन नहुने ठानिरहेका थिए ।

 

विश्वकर्मालाई नगरपालिकाले आधुनिक औजार, कच्चा पदार्थ मात्रै दिएन, उत्पादित वस्तुसमेत खरिद गरिदियो । विश्वकर्मा भन्छन्, ‘अहिले सोचेभन्दा राम्रो आम्दानी छ । उत्पादित खुकुरीको मूल्य २ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ । नेपालको नक्सासहितका खुकुरीसमेत बनाउँदै आएको छु ।’

 

खुकुरीको बिँडमा ३० प्रतिशत र धापमा ७० प्रतिशत नेपालको नक्सा समेटिएको छ । यस्तै, बेलबारी नगरपालिकाकै वडा नम्बर ३ मा ५० जना बढी उद्यमी बनेका छन् । वडा कार्यालयले ढाका कपडा बुन्ने तालिम तथा औजार दिएको वडाध्यक्ष योगेन्द्र सुवेदीले बताए । ‘अहिले ५० जना बढीले घरमै ढका कपडा बुनेर राम्रो आम्दानी लिन थालेका छन्,’ सुवेदीले भने ।