close

कर्णालीमा बालविवाहको भयावह तस्बिर

अभिभावको उक्साहटमै भागी, मागी बिहे गर्नेको पनि विचल्ली

कर्णालीमा बालविवाहको भयावह तस्बिर

अभिभावको उक्साहटमै भागी, मागी बिहे गर्नेको पनि विचल्ली

Trulli
ADVERTISEMENT

सुर्खेत– दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ की धना विक अहिले २२ वर्ष पुगिन्् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिइसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माइन् । 

 

बालविवाहका कारण २ वटा सन्तान पालनपोषणमा समस्या आएपछि उनी र उनका श्रीमान् रोजगारीको सिलसिलामा भारत पुगे । रोजगारप्ी खाज्दै भारत पुगेका दम्पती सुख–दुःख गरी साँझ–बिहानको छाक टारिरहेका थिए । 

 

तर, एक्कासि दुर्घटनामा परी श्रीमान्को मृत्यु भयो । त्यसपछि दुःखमाथि दुःख थपिए, धनाका । ‘सानैमा बालविवाह गरेँ । उबेला बालविवाह भनेको के हो भन्ने थाहै थिएन’, धनाले भनिन्, ‘श्रीमान्को मृत्युपछि ऋण काढेर नेपाल फर्किएँ । अर्कैको घरमा बास छ । अहिले बासगास नहुँदा २ छोरा कसरी पाल्ने भन्ने पिरलो छ ।’ 

 

सानै उमेरमा विवाह गरेपछि १७ वर्षमै पहिलो सन्तान जन्माएकी उनलाई त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो । कसैले पनि बालविवाह गर्नुहुँदैन, सानैमा विवाह गरे पढ्न पाइँदैन नभन्दा अहिले दुःखका पहाडले थिचिनुपरको धना वेदना सुनाउँछिन् ।

 

‘बिहे गर्ने मन थिएन’, उनले भनिन्, ‘घरमा आमाबुबाको जबर्जस्तीले बिहे गर्नुपर्‍यो । अहिले यसरी दुःख पाइन्छ भन्ने थाहा पाएको भए बिहे गर्ने थिइनँ ।’ 

 

धनाजस्तै सोही ठाउँकी परु विकले पनि १५ वर्षको कलिलै उमेरमा भागी विवाह गरिन् । ‘उबेला ६ कक्षा पढ्दै थिएँ । पढ्दापढ्दै मन चञ्चल भएर के–के नहोला भनेर भागी बिहे गरेँ, ‘उनले भनिन्, ‘घरमा आमाबुबाले भनेको मानिनँ । पोइली घर कस्तो होला भनेर भागिआएँ । अहिले समस्यै समस्या छन् ।’ 

 

धनाजस्तै १७ वर्षीया उर्मिला बुढाले पनि १५ वर्षमा भागी विवाह गरिन् । उर्मिलाको घरको अवस्था दयनीय थियो । खान, लगाउनकै समस्या भएपछि भागी विवाह गरेको उनले सुनाइन् । 

 

‘बुबाआमालाई जिम्मेवारी बढी भयो । विवाह गरे सहज होला भन्ठानेर गरेँ । सानैमा आमा बनियो,’ उर्मिला भन्छिन्, ‘त्यतिखेर दुःख गरेर पढेको भए हुन्थ्यो, गल्ती गरियो ।’

 

धनाजस्तै जाजरकोटकी १५ वर्षीया बिनु शाही र १८ वर्षीया मनीषा सुनार पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएपछि अहिले पछुतोमा छिन् ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म प्रदेशमा ३१ वटा बालविवाहका मुद्दा दर्ता भएको उल्लेख छ । 

 

बालबालिका किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना तीव्र वृद्धि हुने, उपयुक्त ढंगले यौनशिक्षाबारेका सकारात्मक अनि र नकारात्मक पक्षमा जानकारी नदिइँदा लहलहमै बालविवाह गर्ने गरेको बाल अधिकारकर्मी सज्जना सुनार बताउँछिन् । 

 

‘अर्को ग्रामीण भेगमा घरपरिवारबाटै अभिभावकले बालविवाह गर्न उक्साएका हुन्छन्’, उनले भनिन्, ‘कुनै काम बिगार्दा अभिभावकले नै बिहे गर्ने उमेरमा काम बिगार्ने भन्छन् । अनि, बालबालिका उमेर पो भइसकेछ भनेर बिहे गर्छन् ।’

 

बालविवाह रोेकथामका लागि स्थानीय सरकारले जीवनोपयोगी सीप सिकाउनुपर्ने र यौनसम्बन्धी शिक्षा दिनुपर्ने सुनारको सुझाव छ । आर्थिक वर्ष २०७७÷७८ को सुरुदेखि हालसम्म कर्णाली प्रदेशभर १७ वटा बालबिवाहसम्बन्धी मद्दा दर्ता भएका छन् ।


बालविवाहमा संलग्न रहेका १३ पुरुष र १० जना महिला, ८ जना बालक र ९ जना बालिका गरी ४० जना पक्राउ परेका छन् भने १ जना बालिका फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


कर्णालीमा बहुविवाह पनि उस्तै 

 

कर्णाली प्रदेशमा बहुविवाह भयावह बन्दै गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रत्येक वर्ष बहुविवाहका घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७७/७८ को माघसम्म ६४ वटा बहुविवाहका मुद्दा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएको तथ्यांक छ । 

 

बहुविवाहका घटनामा संलग्न ४६ पुरुष र ४४ महिला गरी ९० जनालाई पक्राउ गरिएको छ भने १८ पुरुष र २० महिला फरार रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले भने, ‘पहिले गाउँघरमा धेरैजसो बहुविवाहका घटना बाहिर आउँदैनथे । मुलुकी अपराध संहिता ऐन, २०७४ पछि उजुरी गर्नेको संख्या प्रत्येक वर्ष बढिरहेको छ ।’