close

१० प्याकेजमा कृषि अनुदान बाँड्दै मोलुङ

१० प्याकेजमा कृषि अनुदान बाँड्दै मोलुङ

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाको मोलुङ गाउँपालिकाले पालिकाभित्रका व्यावसायिक किसानलाई अनुदान प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले विभिन्न १० प्याकेज घोषणा गरेको हो । 

 

पालिकाले साना व्यावसायिक किसानलाई अनुदान दिएर कृषिलाई व्यावसायिकीकरण गर्ने उद्देश्य राखेको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपाल बताउँछन् । गाउँपालिकाले खाद्यबाली, नगदेबाली, माछा, तरकारी खेती र बाख्रा पालनका विभिन्न प्याकेजमा अनुदानका लागि प्रस्ताव मागेको छ । 

 

१५ हेक्टरसम्म खेती गर्ने कृषक समूह, फार्म तथा सहकारीलाई खाद्यान्न बालीमा अनुदान, ७ हेक्टरसम्म खेती गर्नेलाई नगदेबाली तथा तरकारीमा, १० हजार वर्गमिटरको प्लास्टिक टनेलमा खेती, माछा तथा च्याउका प्रजाति हेरेर व्यावसायिक खेती गर्नेलाई ९ प्याकेजमा अनुदान व्यवस्था गरिएको छ । 

 

त्यस्तै, बाख्रापालन गर्ने फार्म तथा समूहलाई ५ पकेटमा १ प्याकेज हुने गरी १ हजारसम्म बाख्रापालन गर्दा अनुदान पाउने कार्यविधि बनाएर प्रस्ताव माग गरिएको छ । यसरी माग गरिएका प्रस्तावको मूल्यांकन तथा अनुगमन गरेर अनुदान दिइने नेपालले बताए । 

 

प्रत्येक पकेटमा छनोट हुने किसानले ३ लाख रुपैयाँ अनुदान पाउनेछन् । अनुदानको प्रभावकारी अनुगमन र कृषकलाई प्रोत्साहन आवश्यक भएको सरोकारवालाको भनाइ छ ।

 

कृषि फारम दर्ता मात्रै गरेर अनुदान लिने चलन बढेकाले वास्तविक किसानलाई छनोट गर्न उनीहरूको जोड छ । अनुदान दुरुपयोग हुन नदिने गाउँपालिकाले प्रतिबद्धता जनाएको छ ।