close

सडकमा जोडियो तिनाउको विकट काफलबारी

सडकमा जोडियो तिनाउको विकट काफलबारी

Trulli
ADVERTISEMENT

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर १ काफलबारीमा पहिलो पटक मोटर बाटो पुगेको छ । गाउँपालिकाको विकट गाउँको रूपमा रहेको काफ्लबारीमा मोटर बाटो पुगेको हो ।

 

वडा नम्बर १ को बुढीकोटसम्म पहिले नै मोटर पुगे पनि तिनाउ गाउँपालिकाले काफलबारी गाउँमा बाटो पुर्‍याउन सफल भएको हो । गत आर्थिक वर्ष २०७६/७७ देखि चालू आव २०७७/७८ को गाउँपालिकाबाट विनियोजित १८ लाख रुपैयाँ बजेटबाट गाउँमा मोटर बाटो पुग्न सफल भएको पालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए ।

 

अध्यक्ष घर्ती मगरले मोटर बाटो नपुगेको गाउँमा सडक सञ्जाल विस्तारलाई पहिलो प्राथमिकता राखिएकालाई विकट क्षेत्रलाई प्राथमिकता दिइँदै आएको बताए । तिनाउका गाउँ-गाउँमा मोटर बाटो पुर्‍याउन सफल भएको अध्यक्ष घर्तीको दाबी छ । 

 

‘तिनाउका गाउँटोलमा धेरै खाले समृद्धि र विकासका आधार हुँदाहुँदै पनि सडक पहुँच अभावमा स्थानीय उत्पादनको बिक्री वितरणमा कठिनाइ थियो । मोटरबाटो विस्तारले अब सहज हुनेछ’, गाउँ पालिका अध्यक्ष घर्ती मगरले भने । बुढीकोट, काफलबारीलगायत गाउँमा उत्पादन हुने दालचिनी, कागती र कृषि उपजलाई बजारीकरण गर्नसमेत सहयोग पुग्ने अध्यक्ष घर्ती मगरको भनाइ छ । 

 

तिनाउले काफलबारीमा मोटर बाटो मात्रै होइन, विद्युतीकरणसहित १ करोड रुपैयाँ लागत अनुमानमा चिउरी लिफ्टिङ खानेपानी योजनको काम सुरु गरेको छ । 

 

कार्यक्रममा वडा नम्बर १ कचलका वडाध्यक्ष रोमबहादुर लम्तरी, दोभान-कचल मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर बुचा, काफलबारी मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष देवबहादुर बगाले, वडा सदस्य अमर तरामुलगायतले काफलबारीमा मोटर बाटो पुग्न सफल भएकामा गाउँबासीलाई बधाइ दिए ।