close

पोखराको मौजामा हाई अल्टिच्युट खेल मैदान शिलान्यास

पोखराको मौजामा हाई अल्टिच्युट खेल मैदान शिलान्यास

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा हाई अल्टिच्युट खेल मैदान निर्माण थालिएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी र प्रदेशसभा सांसद बिन्दुकुमार थापाले खेल मैदानको शिलान्यास गरे ।

 

१६ सय ५० मिटरको उचाइमा फुटबल मैदान निर्माण गर्न लागिएको हो । सेमिहाई अल्टिच्युट खेल मैदानका रूपमा यसलाई निर्माण गर्न लागिएको मेयर जिसीले बताए । 

 

मैदान बनेपछि खेलकुदको माध्यमबाट पोखराको पर्यटनमा थप टेवा पुग्ने उनको दाबी छ । ‘हाई अल्टिच्युट भनेर सबै मापदण्ड पुग्दैन । महानगरसँग भएको उपलब्ध जमिनमध्ये सबैभन्दा उचाइको यही हो’, उनले भने, ‘स्तरीय मैदान निर्माण गरेर ठूला प्रतियोगिता यही सञ्चालन गर्ने लक्ष्य हो । यसले पोखराको पर्यटनमा थप सहयोग पुग्छ ।’ 

 

सांसद बिन्दुकुमार थापाले प्रदेशबाट आफूले सक्दो सहयोग गर्ने बताए । सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेले मैदान निर्माणसँगै खेल गतिविधि बढ्ने विश्वास व्यक्त गरे । 

 

मैदान निर्माणका लागि प्राविधिक डिजाइन पूरा भएको छ । करिब १६ करोड रुपैयाँ लागतको मैदान सम्याउन महानगरले यस वर्ष ४० लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने बर्सेनि आवश्यक बजेट विनियोजजन गरिने इन्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए । 

 

यो मैदानमा इलेभन ए साइड फुटबल खेल्न मिल्ने गरी संरचना निर्माण गरिनेछ । मैदानसँगै त्यहाँ करिब ३ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत बन्ने पोखराको वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।