close

खोटाङमा प्रदेशभरमै कम पत्रकार 

खोटाङमा प्रदेशभरमै कम पत्रकार 

Trulli
ADVERTISEMENT

खोटाङ- नेपाल पत्रकार महासंघको आसन्न चुनावका लागि गैर-पत्रकारले सदस्यता पाएको चर्चा जताततै चलिरहेको छ । नेतृत्व हत्याउन विशुद्ध पत्रकारिताबाहेक अन्य पेसा, व्यवसायमा संलग्नलाई पत्रकार महासंघको सदस्यता दिइएको गुनासो स्वयं पत्रकारबाट सुनिने गरेको छ ।

 

कतिपय जिल्लामा गैरपत्रकारलाई सदस्यता दिलाएको भन्दै तालाबन्दीका घटना भइरहेका छन् । निर्वाचनलाई लक्षित गर्दै कतिपय जिल्लामा पत्रकार महासंघको सदस्य संख्या बढाइएको अवस्थामा खोटाङमा भने निर्वाचनका बेला सदस्य संख्या बढाउनुको सट्टा घटाइएको छ ।

 

चालू आर्थिक वर्षका लागि नवीकरण गरेका १८ र नयाँ ८ सदस्यता गरी जिल्लामा पत्रकार महासंघको सदस्य संख्या २६ जना निर्धारण गरिएको छ । जिल्लामा ३३ जना पुरानो साधारण सदस्यमध्ये १८ जनाको मात्र सदस्यता नवीकरण गरिएको छ ।

 

अन्य पेसा, व्यवसायमा संलग्न रहेको र पत्रकारितामा कम क्रियाशील रहेको आधारमा १५ जनाको सदस्यता नवीकरण नभएको नेपाल पत्रकार महासंघ शाखाका उपाध्यक्ष रामधन राईले बताए । यस्तै, यो वर्ष जिल्लामा ८ जनालाई नयाँ सदस्यता वितरण गरिएको छ ।

 

पत्रकार महासंघलाई पत्रकार मात्रको संगठन बनाउने लक्ष्यका साथ सदस्यता नवीकरण र वितरणमा शुद्धीकरणको प्रयास गरिएको नेपाल पत्रकार महासंघ शाखाका सचिव उत्तम चौंलागाईले जानकारी दिए ।

 

पत्रकार महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा अन्य पत्रकार संगठनका प्रमुख, पत्रकार महासंघका सल्लाहकार, अग्रज पत्रकारसँग परामर्श गरेरै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको टुंगो लगाइएको शाखाको दाबी छ ।

 

खोटाङमा पत्रकार महासंघको सदस्य संख्या प्रदेश १ भरका जिल्लामध्ये सबैभन्दा कम छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमका अनुसार आसन्न निर्वाचनमा भोजपुरका ४६, धनकुटाका १५५, इलामका १७६, झापाका २६३, मोरङका २०४, ओखलढुंगाका ५०, पाँचथरका ८५, संखुवासभाका ३९, सोलुखुम्बुका ६६, सुनसरीका २६२, तप्लेजुङका ६०, तेह्रथुमका ८२ र उदयपुरका १०१ जनाले मताधिकार प्रयोग गर्दै छन् ।

 

नयाँ सदस्यतका लागि खोटाङबाट १४ जनाको नाम सिफारिस गरिएकामा शुद्धीकरणकै प्रयासस्वरूप अन्तिममा ८ जनाको मात्र नयाँ सदस्यता स्वीकृत गराइएको हो । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव आगामी २५ चैतमा हुँदै छ । निर्वाचनमा महासंघका तिनै साधारण सदस्यले आफूलाई उत्कृष्ट लागेको उम्मेदवारलाई मत दिनेछन् ।

 

अधिकांश जिल्लामा पत्रकारिता पेसामा आबद्ध पत्रकारको संख्य कम छ । तर, पत्रकार महासंघको सदस्यता संख्या दोब्बर-तेब्बर बनाउने प्रवृत्ति मौलाउँदो छ । यसले पत्रकारिताको व्यावसायिक विकासमा अड्चन सिर्जना गर्ने पत्रकारिता गरेर जीविकोपार्जन गरिरहेका श्रमजीवी पत्रकारको गुनासो छ । 

 

व्यवसायी, कर्मचारी, शिक्षक, ठेकेदार, पत्रकारिता छाडिसकेका, पत्रकारिता नगर्ने वा समाचारै लेख्न नजान्नेलाई महासंघको सदस्यता वितरणले विशुद्ध पत्रकारिता गर्ने पत्रकारको छाता संगठनको हुर्मत लिने काम भइरहेको खोटाङका वरिष्ठ पत्रकार कृष्णप्रसाद आचार्य बताउँछन् ।