close

सुनकोसीमा पक्की पुल बन्ने पक्का

३ वर्षभित्र सम्पन्न गर्न ठेक्का सम्झौता 

सुनकोसीमा पक्की पुल बन्ने पक्का

३ वर्षभित्र सम्पन्न गर्न ठेक्का सम्झौता 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिका जोड्ने सुनकोसीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।


हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ५ दुर्छिमको बतासेघाट ख्रोप्पा र लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर १ बाँसबोटेको कुनईस्थित सुनकोसीमा पक्की पुल निर्माणका लागि गत १३ चैतमा ठेक्का सम्झौता भएको हो ।

 

२१ करोड रुपैयाँ लागतमा आगामी ३ वर्षभित्र पूरा गर्ने गरी महावीर इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन काठमाडौंले २०० मिटर लम्बाइको पुल निर्माण ठेक्का सम्झौता गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए । 


त्रि–धार्मिक स्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडक खण्डमा पर्ने पुल निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा सरकारले बजेट विनियोजन गरेको थियो ।

 

खोटाङलाई प्रदेश १ र प्रदेश २ को राजधानीसँग जोड्ने द्रुत मार्ग खोल्ने मोटरेबल पुल निर्माणको कामले हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाका स्थानीयको सदियौँदेखिको पुल बनाउने सपना साकार हुन लागेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।


‘निर्माण कम्पनीले पुल निर्माणको जिम्मा पाएसँगै लिम्चुङबुङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाबासीको वर्षांैको सपना विपनामा परिणत हुने भएको छ,’ गाउँपालिका अध्यक्ष राईले फेसबुकमा लेखेका छन्, ‘यो पुल लिम्चुङबुङको आर्थिक विकासको मेरुदण्ड र गाउँपालिकालाई नयाँ युगमा प्रवेश गराउने कोशेढुंगा साबित हुनुका साथै समुद्रदेखि सगरमाथा जोड्ने छोटो दुरीको एक मात्र पुल बन्नेछ ।’
 


सुनकोसीको दुवै किनारतर्फ सडक निर्माण भएको वर्षौं बिते पनि बतासेघाटमा पक्की पुल अभाव छ । पक्की पुल अभावमा हाल स्थानीय झोलुंगे पुलमार्फत सुनकोसी वार–पार गर्दै आएका छन् । 


सुनकोसीमा पुल बनेपछि हाल पुर्वी तराई–कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–कुनाइ–बतासेघाट हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्नेछ । यस्तै, लिम्चुङबुङ गाउँपालिका, ताम्ली गाउँपालिका र रौतामाई गाउँपालिकाका १८ वडाका स्थानीयका लागि काठमाडौं आउजाउ गर्ने छोटो दूरीको सडक खुल्ने अध्यक्ष राईले बताए । 


तराईबाट सीधै धार्मिक तथा पर्यटकीय स्थल हलेसी, ओखलढुंगा हुँदै खुम्बु–सगरमाथासम्म पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने भएकाले कुनई र बतासेघाट जोड्ने पक्की पुललाई अर्थपूर्ण मानिएको छ ।

 

खोटाङतर्फ मध्यपहाडी लोकमार्गको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिमको दलस्वरचोकदेखि सुनकोसीको बतासेघाट जोड्ने होलेसुङ जनकराज राई मार्ग (१३.२७ किलोमिटर) निर्माण भइसकेको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकातर्फबाट पनि सुनकोसी नदीसम्म सडक निर्माण भइसकेको अवस्थामा पुल निर्माण हुन लागेको हो ।


‘सुनकोसीको दुवै किनारासम्म सडक बनिसकेको छ । मोटरेबल पुल बन्नेबित्तिकै तराईबाट सीधै हलेसी आउने छोटो मार्ग खुल्नेछ’, होलेसुङ समूहका सदस्य रहेका दुर्छिमका बुद्धिजीवी भूपेन्द्रकुमार राईले भने, ‘बतासेघाटमा पुल बन्नेबित्तिकै तराई हुँदै हलेसी आउने भारतीय दर्शनार्थी यही बाटोबाट हिँड्नेछन् ।’ 


हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाको कृषि उत्पादनलाई सहरसम्म पु¥याउनसमेत पुल उपयोगी हुने स्थानीयको भनाइ छ । 

 

बतासेघाटमा पुल निर्माण भएपछि आउजाउबाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकासमा समेत टेवा पुग्नेछ ।


सुनकोसी पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ । बतासेघाटमा पक्की पुल बनेपछि दार्जिलिङ, सिक्किमलगायतबाट हलेसी तथा सगरमाथा पुग्ने सबैभन्दा छोटो बाटो खुल्नेछ ।