म्याग्दी– पोखराको चिप्लेढुंगाकी सरिता सिग्देलको टोली गत साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घोडेपानी–पुनहिलमा रहेको गुराँसको जंगल घुमेर फर्किए ।
गत वर्षको चैतमा बन्दाबन्दी भएपछि पोखरादेखि बाहिर नगएकी सिग्देलले घोडेपानी क्षेत्रको प्राकृतिक सौन्दर्यले २ दिनमै तनावमुक्त बनाएको बताइन् ।
‘परिवारका सदस्य र छिमेकीसहित १२ जनाको समूह नयाँ पुल–घोडेपानी हुँदै घान्द्रुकको पदयात्रामा आएका हौँ’, उनले भनिन्, ‘बजारदेखि टाढाको एकान्त वातावरण र मनोरम दृश्यले रिफ्रेस बनायो ।’
१० जनाको समूहमा घोडेपानी आएका बागलुङ बजारका राम्जी थापाले पनि ढकमक्क फुलेका गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको अनुभव सुनाए । ‘कोरोनाको त्रासले धेरै समय सीमित ठाउँमा बस्नुपर्दा भएको उकुसमुकुस मेटाउन घोडेपानी घुम्न आएको हो’, उनले भने, ‘रमाइलो महसुस भयो ।’
वसन्त ऋतुको आगमनसँगै म्याग्दीको घोडेपानीलगायत उच्च पहाडी जंगलमा गुराँस फुलेर राताम्मे बनेको छ । एकै ठाउँ फुलेका रंगीबिरंगी गुराँसको सौन्दर्यले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ ।
वनैभरि राताम्मे फुलेका गुराँसका रंगले यहाँका जंगल निकै मनमोहक र आकर्षक बनेका छन् । गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेको घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताए ।
११ चैत २०७६ मा बन्दाबन्दी भएपछि बन्द गरिएको घोडेपानी–पुनहिल भ्रमणका लागि १ माघ २०७७ देखि खुला गरिएको थियो । ‘विदेशी पाहुना नआए पनि नेपालको विभिन्न सहरी क्षेत्रबाट घुम्न आउनेको संख्या बढ्दै गएको छ’, उनले भने, ‘कोरोनाले थलिएको होटल र पर्यटन व्यवसायलाई आन्तरिक पर्यटकले भरथेग गरेका छन् ।’
बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । दैनिक १५० देखि २०० जना हाराहारी आन्तरिक पर्यटक आउन थालेका छन् ।
फागुनसम्म सुनसान यो क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै चहलपहल बढेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।
पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ«ेलगायत १६ बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
विश्वमा पाइने ४२ मध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।
एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको दाबी स्थानीयको छ । अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फूलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, दुरलेक, बेनी नगरपालिकाको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसका ठूला जंगल छन् ।
पुनहिलको नजिकै पर्ने फूलबारीमा प्रदेश सरकारले १० लाख रुपैयाँ खर्चेर गुराँस उद्यान बनाउन लागेको छ । २० रोपनी जमिनमा बनाउन लागिएको उद्यानको तारबार गर्नुका साथै शौचालय निर्माण गर्ने योजना छ । नेपालमा पाइने सबै प्रजातिका गुराँस एकै ठाउँमा अवलोकन गर्न सकिने बनाउन लागिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।