close

वसन्तपुर क्षेत्रका पसल हटाउन पुरातत्त्वको आलटाल

महानगरले थाल्यो माइकिङ

वसन्तपुर क्षेत्रका पसल हटाउन पुरातत्त्वको आलटाल

महानगरले थाल्यो माइकिङ

Trulli
ADVERTISEMENT

काठमाडौं– विश्व सम्पदामा सूचिकृत वसन्तपुर हनुमानढोका दरबार क्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापार हटाउन काठमाडौं महानगरपालिकाले माइकिङ गर्न थालेको छ । पुरातत्त्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै महानगरले व्यापार हटाउन माइकिङ गर्न थालेको हो ।

 

विभागलाई पटक–पटक आग्रह गर्दा अटेर गरेकाले आफैंले हटाउने प्रक्रिया थालेको नगर प्रहरी धनपति सापकोटाले जानकारी दिए । ‘ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिरहेका व्यवसायीलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङ गरेका हौँ,’ सापकोटाले भने ।

 

वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेस्टुराँ र सटर सञ्चालित रहेकाले व्यापारीले आफैं हटाउन नमाने आफ्नै ढंगबाट अघि बढ्ने उनले बताए । 


सम्पदा बचाउने जिम्मेवार निकाय पुरातत्त्व रहेको र विश्व सम्पदामा सूचीकृत स्थानमै पुरातत्त्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने भन्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा अनधिकृत स्थान खाली गराउने प्रक्रिया अगाडि बढेको हो ।

 

‘स्थानीयको माग सम्बोधन गर्दै महानगरले पुरातत्त्वलाई दोस्रो ताकेतापत्रसमेत पठाइसकेको र त्यो ताकेतालाई पनि बेवास्था गरेपछि हामी अघि बढेका हौँ,’ सापकोटाले भने ।

 

काठमाडौं महानगरले गत १४ माघमा अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्त्वलाई पत्र पठाएको थियो । अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्न ताकेता गर्दै पुनः ५ चैतमा ताकेतापत्र पठाई पुरातत्त्वलाई स्मरण गराएको थियो ।

 

पुरातात्त्विक र विश्व सम्पदा सूचीको सम्पत्तिलाई संरक्षण गर्ने पक्षमा रहेको पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम बताउँछन् ।