close

लुम्बिनीका १७ पर्यटकीय गन्तव्यको योजना तयार

गौतम बुद्धदेखि दुर्लभ शालिग्रामसम्म समेटिँदै 

लुम्बिनीका १७ पर्यटकीय गन्तव्यको योजना तयार

गौतम बुद्धदेखि दुर्लभ शालिग्रामसम्म समेटिँदै 

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशमा शान्तिकामी भगवान् गौतम बुद्धदेखि मठमन्दिर, देवालय संरक्षण र सम्वद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याउने गुरुयोजना बनाइन थालेको छ । त्यसका लागि प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले कार्यक्रम अगाडि सारेको छ ।

 

लुम्बिनीका १२ वटै जिल्लामा थुप्रै शक्तिपीठ रहनुका साथै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसमेत भएकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यो योजनाले भूमिका निर्वाह गर्ने मन्त्रालयका शाखा अधिकृत गणेश घिमिरेले बताए ।

 

प्रदेश सरकारले विश्वमै नेपालको लुम्बिनी र गण्डकीमा पाइने शालिग्राम संरक्षणका लागि अध्यन सुरु भएको छ । शालिग्राम संरक्षणका लागि मन्त्रालयले खोज–अनुसन्धान सुरु गरेको र संरक्षण एवं महत्त्वबारे अध्ययन थालिएको घिमिरेले जानकारी दिए । 

 

लुम्बिनीका १२ जिल्लामा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । तिनको संरक्षण र प्रचार–प्रसार गर्दै धार्मिक पर्यटक भित्र्याउन सके प्रदेश अब्बल बन्न सक्ने घिमिरेको बुझाइ छ ।

 

लुम्बिनी 

 

लुम्बिनी प्रदेशको रूपन्देहीमा रहेको भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वसम्पदा सूचीमा रहेको तपोभूमि हो । झन्डै २५६२ वर्ष अगाडि जन्मिएका गौतम बुृद्धलाई एसियाका तारा मात्रै नभई भगवान् विष्णुकै अवतारको रूपमा हिन्दु धर्मावलम्बीले मान्दै आएका छन् । 

 

लुम्बिनीमा विभिन्न देशको कला–संस्कृति झल्कने थुपै्र गुम्बा छन् । यो भूमि संसारभरका बौद्धमार्गीलगायत शान्तिपे्रमी सबैका लागि विश्व शान्तिको मुहानका रूपमा प्रसिद्ध छ ।

 

लुम्बिनीका सम्पूर्ण धरोहरमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रबिन्दु हो । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहले यसको महत्त्व तथा प्राचीनतामाथि प्रकाश पारेका छन् ।

 

सिद्धार्थ नगरपालिकाबाट झन्डै १९ किमि दूरी पार गरिसकेपछि लुम्बिनी पुग्न सकिन्छ । लुम्बिनीमा सबैभन्दा बढी भारतीय र चिनियाँ पर्यटक आउने गर्छन् । 

 

सिद्धबाबा धाम 


बुटवल बसपार्कदेखि झन्डै ६ किमिी दूरी पार गरिसकेपछि सिद्धबाबा पुग्न सकिन्छ । चुरे पहाडको काखमा रहेको यो धामको दर्शनका लागि नेपाल र भारतका विभिन्न ठाउँबाट श्रद्धालु भक्तजन आउने गर्छन् ।

 

दुवैतिर पहाड, पडाड बीचमा रहेको तिलोत्तमा नदी, नदीकै सामीप्यमा रहेको सिद्धबाबा धाम ऐतिहासिक, धार्मिक पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । 


यहाँ शिव मन्दिर, दुर्गा मन्दिर, हनुमानको पूर्ण कदको मूर्ति, सन्तोषीमा मन्दिरलगायत थुपै्र मठमन्दिर छन् । विशेषगरी सोमबार, महाशिव रात्रि, साउन महिनालगायत अन्य चाडवाडमा निकै भीड लाग्ने गर्दछ । रूपन्देहीमा परौहा परमेश्वर शिवज्योति लिंग धामलगायत थुपै्र देवस्थल र धार्मिक धरोहर छन् ।

 

पाल्पा

 

प्राकृतिक सौन्दर्यले ओतप्रोत पाल्पा साँच्चिकै रमणीय छ । यहाँका छाँगाछहरा, पाखापखेरा लोभलाग्दा छन् । यहाँबाट देखिने हिमशृंखलाले आन्तरिक र बाह्य पर्यटकलाई सजिलै तान्छ । 

 

पाल्पामा अवस्थित रानीमहल १९५० मा शिलान्यास भई ४ वर्षमा दरबार, मन्दिर, पाटीपौवासहितको निर्माण पूरा भएको हो । तानसेन नगरपालिकाको वडा नम्बर १२ मा पर्ने रानीमहल नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ विशाल चट्टानमाथि पश्चिमा कलाशैलीमा निर्माण भएको छ । 

 

जनरल खड्गशमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको यो दरबार वरिपरिको वातावरणले सबैको मन खिच्छ । 

 

पाल्पामा रहेको भैरवस्थान पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो त्रिशूल भएको मन्दिर मानिन्छ । भैरव मन्दिरमा सधैँभरि मेला लागे पनि विशेषगरी मंगलबार र शनिबारका दिन श्रद्धालुको भीड हुने गर्छ । विभिन्न चाडपर्वमा बोका, हाँस, परेवा, कुखुरा र पाडाको कालभैरवलाई बलि दिने प्रचलन छ ।

 

तानसेन बजारबाट ८ किमि पश्चिममा रहेको भैरवस्थानबाट अधिकांश हिमशिखरको सजिलै दृश्यावलोकन गर्न सकिन्छ । 

 

कपिलवस्तु 

 

कपिलवस्तुमा भगवान् गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र, तौलिहवा मन्दिर, गौतम बुद्ध सम्बन्धित गोटिहवा, विश्व सीमसार क्षेत्र, जगदीशपुर ताल, उमरी गुफालगायत धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेका स्थल छन् ।


तिलौराकोट प्राचीन पुरातात्त्विक महत्त्वको स्थल हो । तौलिहवाबाट ४ किमि उत्तर वाणगंगा नदीको नजिकै पूर्वतिर अवस्थित यो क्षेत्रमा उत्खनन पनि भइरहेको छ । 

 

गौतम बुद्धले २९ बर्ष बिताएको बाबु राजा शुद्धोधनको दरबारसमेत यसै क्षेत्रमा रहेको बताइन्छ । तिलौराकोट दरबारको भग्नावशेष क्षेत्र वरिपरि अहिले पनि उत्खनन गरी अनुसन्धान भइरहेको छ । 

 

जगदीशपुर ताल

 

विश्व सम्पदा सूचीमा सूचीकृत कपिलवस्तुको निग्लिहवास्थित जगदीशपुर तालमा १२८ बढी प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको बसोबास छ । हरेक वर्ष जाडो महिना सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मी लागेसँगै फर्कने गर्छन् । 

 

१ सय ५७ हेक्टरमा फैलिएको जगदीशपुर ताल एसियाकै मानव निर्मित कृत्रिममध्येको ठूलो ताल हो । पर्यटकीय महत्त्व बोकेको तालमा हिउँदमा साइबेरिया रुस, चीन, मंगोलिया तथा मध्य एसियाका देशबाट चराचुरुंगी हरेक वर्ष त्यहाँ विचरणका लागि आउने गर्छन् । 

 

शिवगढी

 

कपिलवस्तुको पश्चिम सिमाना धानखोलाबाट करिब डेढ घन्टाको उकालो हिँडेपछि शिवगढी मन्दिर पुगिन्छ । धानखोलाको दक्षिण–पश्चिमपछिको चुरे पहाडको चुचुरोमा शिवगढी मन्दिर अवस्थित छ ।


मन्दिरको केही तलतिर १४ वर्षसम्म भगवान् शिवको तपस्यामा बसेका बाबाहरूको कुटीसमेत छ, जसलाई मौनी बाबा भनेर चिनिन्छ । 

 

गुल्मी 

 

लुम्बिनी प्रदेशको गुल्मीमा पनि धेरै पर्यटकीय स्थल छन् । पौराणिक कालदेखि पवित्र तीर्थ स्थलको रूपमा परिचित रुरु क्षेत्र रिडी गुल्मी, पाल्पा र स्याङ्जजाको संगममा पर्छ । 

 

बुटवल करिब ६० किमि उत्तरमा अवस्थित पहाडै पहाडले घेरिएको र बीचमा समथर जमिन रहेकाले यसको प्राकृतिक बनावट उपत्यकाजस्तो देखिन्छ । वराह पुराणामा रुरु क्षेत्रको पौराणिक इतिहासको वर्णन छ । यो क्षेत्रमा सत्य युगमा सती देवीको दन्त पतन भएको मानिन्छ ।

 

हिन्दु धार्मिक मान्यताअनुसार नेपालका ४ वटा धार्मिक क्षेत्रमध्ये रुरु पनि एक हो । यहाँ ४० भन्दा बढी मन्दिर छन् । ऋषिकेश मन्दिर नेपालकै प्रसिद्धमध्येमा पर्छ । 

 

भगवान् ऋषिकेश विराजमान, कालीगण्डकीको बहाव तथा शालिग्रामको उपलब्धता रहेकाले रुरुले विशिष्ट धार्मिक पहिचान बोकेको छ । यहाँ माघेसंक्रान्ति, औँसी, पूर्णिमा, ग्रहण तथा वैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्छ ।

 

रेसुंगा 

 

समुद्री सतहदेखि १७०० मिटर उचाइमा रहेको रेसुंगा आफैंमा सुन्दर र अनुपम छ । प्राचीन युगमा ऋषिले राजा दशरथलाई सन्तान नजन्मेपछि पुत्रेठी महायज्ञ गराएसँगै यज्ञपछि राम, लक्ष्मणको जन्म भएको विश्वास छ । 

 

सिद्धबाबा, विष्णु, शिव, गणेशलगायत विभिन्न देवीदेउताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्त्वलाई बढाएको छ । यहाँ भगवान् राम, लक्ष्मण श्रृंग्ग ऋषिको दर्शन गर्न आउँदा स्थानीयले पानी नभएको बताएपछि आफ्नो धनुवाँणले हानेर रामले पानी निकालिदिएको रामकुवासमेत छ ।

 

रेसुंगाबाट विभिन्न हिमशृंखला, तालतलैया, तराईका समथर भूमि सजिलै दृश्यावलोकन गर्न सकिन्छ । गुल्मीको तम्घासबाट ६ किमि ठाडो उकालो दूरी पार गरिसकेपछि यो ठाउँ पुग्न सकिन्छ । 

 

अर्घाखाँचीको पाणिनी तपोभूमि 

 

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको उच्च पहाडी भू–भागमा पर्ने पाणिनी तपोभूमि जंगलमा हजारौँ प्रकारका जडीबुटी र जंगली पशुपक्षी पाइन्छन् । पाणिनी तपोभूमिकोउ त्तरतर्फको पानी कालीगण्डकी र दक्षिणतर्फको पानी वाणगंगामा मिसिन आउँछ । तपोभूमिमा मन्दिर, यज्ञशाला, पाठशाला, भ्युटावर, बगैँचा पाणिनी ऋषिको मूर्ति छ । 

 

अर्घाखाँचीको पोखराथोक र पाल्पाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । पाणिनी ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर १४ सूत्राणी भनिएको र तिनैको आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुडीको निर्माण गरिएको संस्कृतविज्ञ सुनाउँछन् ।

 

पणेना लेकमा आएर पाणिनीले ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रसन्न भएर आशीर्वाद दिएको पौराणिक मान्यता छ । 

 

सुपा देउराली मन्दिर 

 

अर्घाखाँचीमै पर्ने सुपा देउराली मन्दिर दर्शनले मनोकांक्षा पूरा हुने विश्वास छ । १ जना व्यक्ति लाहुर जाने क्रममा यही मन्दिरमा पुगेर देवी भगवतीलाई भाकल गरेको दान चढाउन बिर्सिएपछिको साक्षात रूप यहाँ देख्न सकिन्छ । 

 

तर, फर्कने क्रममा उनले गरेको वाचा पूरा गरेनन् । सुपा देउराली मन्दिरलाई छलेर जाँदा एकाएक पहिरोमा टाँसिएको साक्षी त्यहाँको भित्तामा टाँसिएको मानव आकृतिको चित्रले देखाउँछ । 

 

नवलपरासी रामग्राम स्तुप 

 

लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तुप ऐतिहासिक पुरातात्त्विक तथा धार्मिक पर्यटकीय स्थल हो । कोलिय गणराज्यको रूपमा रामग्राम स्तुप रहेको र यसको राजधानी नवलपरासीको पण्डितपुरमा परेको छ । 

 

भूर्गभविद्ले नवरपरासीको पण्डितपुर कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरिसकेकाले पनि यस महत्त्व झनै बढेको छ । रामग्राम नगरपालिका वडा नम्बर ३ उजैनीमा पर्छ । सरमुकाम परासीदेखि दक्षिण महेशपुरबाट ३ किमि दूरी पार गरी उजैनी गाउँबाट १५ मिनेट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने थुम्कोमा रामग्राम स्तुप छ ।


प्युठान स्वर्गद्वारी

 

लुम्बिनी प्रदेशको स्वर्गद्वारी प्युठान सदरमुकाम खलंगाबाट करिब २६ किमि पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरमध्ये एक मानिन्छ । समुद्री सतहदेखि ७००० फिटको उचाइमा यो मन्दिर अवस्थित छ ।

 

आश्रम मात्रै २६०० रोपनी क्षेत्रफलमा अवस्थित छ । रोल्पाको घुम्तीमा जन्मिएका १०८ महाप्रभु बालतपस्वी नारायण गौतम ११५१ मा स्वर्गद्वारी आएपछि वेदका मन्त्रद्वारा अग्नि प्रज्वलित गरी ११५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु भएको पौराणि मान्यता छ ।

 
विश्व शान्तिका लागि सञ्चालित अखण्ड यज्ञमा अहिले पनि निरन्तर अग्नि बोलिरहेकी छन् । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास छ ।

 

यहाँ भारतको उत्तर प्रदेश, बिहार र नेपालका आन्तरिक तीर्थयात्री पुग्ने गर्छन् । स्वर्गद्वारीमा पूर्वपश्चिम महेन्द्र राजमार्गको दाङ–भालुवाङदेखि प्युठानको भिग्रीसम्म कालोपत्रे सडक छ भने र भित्रीदेखि १४ किमि कच्ची ग्रामीण सडकबाट सजिलै पुग्न सकिन्छ ।

 

बाँके बागेश्वरी मन्दिर 

 

लुम्बिनी प्रदेशको बाँके सदरमुकाम नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरलाई अनुपम धार्मिक स्थल मानिन्छ । हजाराँै वर्षको इतिहास रहेको यो मन्दिरमा सतिदेवीको अंग पतन भएको धार्मिक विश्वास छ । यहाँ गणेश भगवान्को मूर्ति छ । बागेश्वरी मन्दिरमा विशेष पूजा गर्ने विधि छ ।
यो मन्दिर दर्शनका लागि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत श्रद्धालु पुग्ने गरेका छन् । 

 

बर्दिया ठाकुरद्वारा 


लुम्बिनी प्रदेशको बर्दियामा रहेको ठाकुरद्वारा घुमफिरका लागि महत्त्वपूर्ण स्थल हो । ठाकुरद्वारा बर्दिया राष्ट्रिय निकुञ्जका कारण पर्यटकको गन्तव्य बनिरहेको छ ।

 

ठाकुरद्वारामा जनावर र सीमसार क्षेत्र भ्रमण अवलोकन गर्न स्वदेशी एवं विदेशी पाहुना पुग्छन् । ठाकुरद्वारामा दुर्लभ पाटे बाघका साथै अन्य जनावर पाइन्छन् । 

 

ठाकुरद्वारा जान कोहलपुरबाट ६० किमि पश्चिम आम्बामा पुगेपछि त्यहाँबाट १९ किमि दक्षिणको यात्रामा बर्दिया निकुञ्ज पुगिन्छ ।

 

रुकुम रुकुमकोट


रुकुम प्राकृतिक सम्पदाको दृष्टिले अनुपम छ । ५२ पोखरी ५३ तालको रूपमा पनि यसलाई चिनिन्छ । रुकुमकोट पश्चिम क्षेत्रकै पर्यटकीय हब हो ।

 

रुकुमकोट पहिलाका राजा रजौटाहरूले राज्य गरेको ठाउँ पनि हो । रुकुमको १० कोश पूर्वमा पर्ने रमणीय ठाउँ नै रुकुमकोट हो । यो प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

 

रुकुमकोटमा रहेको रुक्मिणी देवीको नामबाट रुकुमकोट रहेको र रुकुमकोटबाट पछि रुकुम नाम रहेको जनश्रुति पाइन्छ । यहाँको कमल तालले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको छ । यहाँ शिवरात्रि, चैते दसैँ, तिज र बडादसैँमा भव्य मेला लाग्ने गर्छ । यो तालमा नुहाए विभिन्न छालाका रोग निको हुने जनविश्वास छ ।


रुकुमकोटको बाहुनथानामा रहेको अविस्थत यो ताल नेपालको नक्सा जस्तो देखिन्छ । यो तालको पूर्वमा पर्ने वनमा विभिन्न किसिमका जडीबुटी पाइन्छन् । ताल वरिपरि विभिन्न किसिमका चरा पाइने भएकाले बर्ड वाचिङका लागि उपयुक्त स्थान हो । 

 

रोल्पाको थवाङ

 

जिल्ला सदरमुकाम लिवाङबाट १ दिन हिँड्दा पुगिने थवाङ ६ दशकयता मुलुकभित्र र बाहिर पनि वहिष्कारवादी कम्युनिस्ट गाउँ भनेर चर्चित छ । २०१५ को संसदीय चुनाव पछि २०७० मंसिरको संविधानसभा निर्वाचनसम्म खवाङबासीले सामूहिक निर्णय गरेर मत एकै ठाउँ खसाले वा निर्विरोध बनाए । 

 

समाज रुपान्तरणको नारासहित २०५२ मा जनयुद्धमा होमिएको माओवादीको सेल्टरको रूपमा परिचित छ, थवाङ । यहाँका बासिन्दाले सबै काम सामूहिक सल्लाहमै गर्छन् । भोट हाल्न गए सबै जाने, नगए कोही नजाने परम्परा छ । विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समूहको सदस्यमा चुनाव हुँदैन । सामूहिक निर्णयले चुन्ने गरिएको छ । 

 

दाङको रिहार


लुम्बिनी प्रदेशको मुकाम दाङ पर्यटकीय दृष्टिकोणले निकै अब्बल मानिन्छ । दाङको सबभन्दा महत्त्वपूर्ण स्थल रिहार नामको इतिहास ५००० वर्ष पुरानो रहेको बताइन्छ । द्वापर युगमा ऋषिमुनिहरूले विहार गरेको हुँदा यो ठाउँको नाम ऋषि विहारबाट रिहार रहन गएको धार्मिक विश्वास छ ।


रिहारमा द्वापर युगमा ग्वालाले गाई चराउने र गाईले बगार बाबालाई दूध चढाउने गरेको किंवदन्ती । सतबरियामा पर्ने रिहार धाम १०० हेक्टरमा फैलिएको छ । 


हरेक वर्ष माघेसंक्रान्तिको अघिल्लो दिनदेखि १ सातासम्म मेला लाग्ने रिहारमा सूर्य र त्यसमा २ वटा कुण्ड पनि छन् । लमहीबाट ७ किमि पश्चिममा रिहारधाममा अवस्थित छ ।

 

पाण्डेश्वर मन्दिर धारापानी गाउँमा पर्दछ । मन्दिरको दक्षिणमा चुरे पहाड, उत्तरमा सरमु गंगाको उद्गम नदी, पूर्वतर्फ घना जंगल र पश्चिममा धारापानी गाउँ पर्दछ ।

 

धार्मिक किंवदन्तीअनुसार द्वापर युगमा ५ पाण्डव द्रौपदीसहित स्वर्गको यात्रामा रहेका बखत यस स्थलमा आएर महादेवको अराधना गर्दै यज्ञ लगाएको विश्वास छ । ५ पाण्डवले ध्यान र तपस्या गर्दा ज्योर्तिलिंग स्थापना गरेकाले पाण्डेश्वर महादेव भनी नामकरण गरिएको धार्मिक मान्यता छ ।