close

लोक संगीतको संरक्षणमा जुट्यो मालिका 

लोक संगीतको संरक्षणमा जुट्यो मालिका 

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीको मालिका गाउँपालिकाले लोक संस्कृति संरक्षण र स्थानीय प्रतिभालाई पहिचान गर्ने उद्देश्यले मालिका लोक तारा सञ्चालन गरेको छ ।

 

गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी स्थानीय प्रतिभालाई विभिन्न चरणमा छनोट गर्दै मालिका लोक तारा घोषणा गरिएको हो । यो वर्षको मालिका लोक तारा मालिका गाउँपालिका वडा नम्बर ३ की करुणा बुढा मगर बनेकी छन् । 

 

उनले गाउँपालिकाको आर्थिक सहयोगमा सन्देशमूलक गीत रेकर्ड गर्न पाउनेछन् । गाउँपालिका यो कार्यक्रम गर्ने जिल्लाको पहिलो स्थानीय तह हो । 

 

गाउँपालिकाको रचनात्मक कामले स्थानीय प्रतिभालाई अवसर र उत्साह भरेको मालिका ताराका प्रतिस्पर्धी ज्ञानबहादुर बलामीले बताए । ‘उत्कृष्ट कला प्रदर्शन निर्णायकमा भर पर्ने कुरा हो,’ उनले भने, ‘वरिष्ठ कलाकार र सयौँ दर्शकका अगाडि उभिएर गाउने र अनुभव लिने अवसर गाउँपालिकाले दिएको छ ।’


मालिकाको आर्थिक सहयोगमा जनाधार मिडियाले सञ्चालन गरेको मालिका लोक ताराका लागि गाउँपालिकाभित्रका ५३ जना प्रतिस्पर्धीले भाग लिएका थिए । मालिका लोक तारा ११ चैतदेखि ४ दिनसम्म सञ्चालन भएको थियो ।

 

‘अहिले पश्चिमा संस्कृतिको प्रभावका कारण नेपाली मौलिक लोक संस्कृति चपेटामा परिरहेको छ । सोही कारण कयाँै पुराना गीत–संगीत र सर्जक ओझेल परिरहेका छन् । स्थानीय दूरदराजका लोक प्रतिभाले गाउने अवसर मात्रै पाएका छैनन्, पुराना कलाकारको जमघटले मालिका गाउँपालिकाको पहिचान उँचो भएको छ’, वरिष्ठ लोक गायक बोमबहादुर कार्कीले भने ।

 

मालिकाको वडा नम्बर ७ घमिरमा जन्मिएर काठमाडाैंलाई कर्मथलो बनाए पनि गाउँको मायाले बर्सेनि विभिन्न कार्यक्रमको साथ आउने गरेको उनको भनाइ छ । गाउँपालिकाले सञ्चालन गरेको मालिका तारा लोक गीत–संगीतको संरक्षणसँगै कलाकारप्रतिको सम्मान भएको प्रतिक्रिया कार्कीले दिए ।

 

मालिकाका भूगोलले विकट भए पनि पर्यटन तथा कला–संस्कृतिका हिसाबले अब्बल छ । पालिकाले होमस्टे, प्याराग्लाइडिङसँगै बर्सेनि मालिका लोकतारामार्फत स्थानीय पर्यटन एवं कला–संकृतिको जर्गेना र प्रचार–प्रसार गरिरहेको गाउँपालिका प्रमुख रितबहादुर थापाले बताए ।

 

मालिका लोक ताराको अन्तिम चरणमा लोकगायक बोमबहादुर कार्की, छन्त कार्की, सन्तोष लम्साल, आरती रुचाल, सुनील थापा र राजन बोहोरालगायत कलाकारको प्रस्तुति रहेको थियो । 

 

मालिका ताराले युवा पुस्तामा गीत–संगीतप्रतिको उत्साह बढेकाले लोकगीतसँगै अरु विधालाई समेत समेटेर मालिका तारा निरन्तरतालाई दिनुपर्ने कार्यक्रमको सहजीकरण गरिरहेको जनाधार मिडिया प्रालिका सञ्चालक डिबी खड्काको सुझाव थियो ।