close

राउटे समुदायको सीप संकटमा 

राउटे समुदायको सीप संकटमा 

Trulli
ADVERTISEMENT

सुर्खेत (वीरेन्द्रनगर) – कुनै समय आफूले बनाएका सामग्री बोकेरै गाउँ–गाउँ डुलेर अन्नसँग साटेर जीविकोपार्जन गर्ने राउटे समुदाय सीप संरक्षण नहुँदा संकटमा पर्दै गएका छन् । 

 

बजारमा आधुनिक प्रविधि भित्रिएसँगै जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले निर्माण गरेका सामग्री संकटमा पर्न थालेका हुन् । 


निर्माण गरेका सामग्री कसैले नकिन्दा रोजीरोटी जुटाउने समस्या देखिएको उनीहरू बताउँछन् । राउटे समुदायका व्यक्तिले विभिन्न काठबाट थाल, कचौरा, झुमा, कोसी, आडी, मधुस, खाट, नाउलगायत सामग्री बनाउँदै आएका छन् ।


‘पहिले–पहिले हामीहरू धेरै सामग्री निर्माण गथ्र्यौं’, राउटे मुखिया ऐनबहादुर शाहीले भने, ‘अहिले सामान बिक्री हुन छाडेपछि अधिकांशले निर्माण गर्न छाडिसकेका छन् ।’


केही मात्रामा झुमा, कोसीलगायतका सामग्री बनाइरहे पनि अरू सामान बन्न छाडेको मुखिया शाही बताउँछन् । ‘पहिले–पहिले गाउँ जाँदा थुप्रै सामान बनाएर जान्थ्यौँ । अहिले बजारमा नयाँ प्रविधि भित्रिएसँगै गाउँ गए पनि हाम्रा सामान कसैले किन्दैनन्’, शाहीले भने ।


पछिल्लो समय राउटेको बस्तीमा पुग्ने विभिन्न संस्था र युट्युबरहरू राउटेको उत्थानका लागि नभई पैसाका लागि जाने र जाँडरक्सी खुवाउँदा उनीहरू बिग्रिएको स्थानीय बताउँछन् । 


राउटेसँग सामग्री निर्माण गर्ने औजार पनि नभएको र हाते औजारले बनाएका सामान पनि बिक्री नहुँदा पेसा संकटमा परेको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले बताइन् । पछिल्लो समय राउटेको कला–संस्कृति र सीप पनि संकटमा परेको उनको बुझाइ छ । 


लोप हुँदै गएको राउटेको पेसालाई जोगाइराख्न प्रतिष्ठानले संरक्षणको पहल गरेको खड्काको दाबी छ । प्रतिष्ठानले राउटेको पेसा बचाउन उनीहरूले निर्माण गरेका सामग्री गत शनिबार मात्रै ४० वटा काठका झुमा खरिद गरेको छ । एउटा झुमाको ३ हजार रुपैयाँका दरले खरिद गरिएको प्रतिष्ठानले जनाएको छ ।

 

‘राउटेलाई व्यावसायिकतातर्फ उन्मुख गरेर उनीहरूको पेसा जोगाउन प्रतिष्ठानले सामान खरिद गरिरहेको छ’, उनले भनिन्, ‘पछिल्लो समय बजारमा प्लास्टिकका भाँडाका कारण राउटेको पेसा नै धरापमा परेको छ । उनीहरूले आफ्नो पेसा पनि बिर्र्संदै गएका छन् ।’ 

 

प्रतिष्ठानले ती सामग्रीलाई संग्र्रहालयको रूपमा राख्ने उद्देश्य रहेको अध्यक्ष खड्काले जानकारी दिइन् । राउटेले बनाएका सामग्री राज्यले खरिद गरेर उनीहरूलाई व्यवसायी बनाउनुपर्ने खड्काको माग छ । 

 

‘राउटे समुदायलाई काम गर्न सहज होस् भनेरै उच्च प्रविधिको सामान मुख्यमन्त्री कार्यालयबाट उपलब्ध गराए पनि मुखियाले लिन नमानेको कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव चन्दमान श्रेष्ठले बताए ।  

 

‘लोपोन्मुख राउटेलाई खाना, छाना र नानाका लागि कर्णाली प्रदेश सरकारले ५ करोड रुपैयाँ छुट्याएको छ’, उनले भने, ‘राउटे समुदायको सीपलाई पनि परिमार्जित गर्न नयाँ औजार तथा मेसिन उपलब्ध गराउँदा उनीहरूले लिनै मानेनन् ।’