close

उद्योग वाणिज्य संघको भवन शिलान्यास 

उद्योग वाणिज्य संघको भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङ उद्योग वाणिज्य संघको भवन शिलान्यास गरिएको छ । जिल्ला अदालत छेउ निर्माण गर्न लागिएको संघको सुविधासम्पन्न सचिवालय भवन मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर वीणादेवी राईले संयुक्त रूपमा शिलान्यास गरे ।

 

नगरपालिकाको वडा नम्बर १ दिक्तेलमा २ रोपनी जग्गा खरिद गरेर भवन निर्माण सुरु गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले जानकारी दिए । 

 

खोटाङमा वाणिज्य संघ स्थापना गरिएको झन्डै ४० वर्षपछि आफ्नै भवन निर्माणको काम सुरु गरिएको हो । करिब साढे ३ करोड रुपैयााँ आगामी ३ वर्षभित्र साढे ३ तले भवन निर्माण गरिनेछ ।

 

भवन निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढीले क्रमागत योजनाका रूपमा ३० लाख रुपैयाँ उपलब्ध गराउने संघले जनाएको छ । संघको भवन निर्माणका नगरपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । 

 

भवन निर्माणकै लागि हालसम्म ५ लाख हाराहारी आर्थिक सहयोग जुटिसकेको छ भने १० लाख रुपैयाँको सहयोगको प्रतिबद्धता जुटेको अध्यक्ष राईले बताए । 

 

चालू आर्थिक वर्ष कार्यालयको कामकाज सुरु गर्न मिल्ने गरी १ तले भवन फिनिसिङ गरिने बताइएको छ । २०३५ मा स्थापना भएको वाणिज्य संघले हालसम्म भाडाको घरबाट कार्यालयको कामकाज सञ्चालन गर्दै आएको छ । 

 

संघले ४ वर्षदेखि भवन निर्माणका लागि अभियान चलाएको थियो । भवन शिलान्यास कार्यक्रममा वडाध्यक्ष टंक आचार्य, वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र लयालु, व्यवसायीलगायतको उपस्थिति थियो ।