close

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै खोटेहाङ 

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै खोटेहाङ 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी थालेको छ । 

 

सम्बन्धित लाभग्राहीकै हातमा सामाजिक सुरक्षा भत्ता पु¥याउने व्यवस्थाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षको अन्तिम चौमासिकदेखि राष्ट्रिय वाणिज्य बैंक र सालपा विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको हो ।

 

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि बुधबार गाउँपालिका अध्यक्ष प्रदीप राईले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खोटाङ बजारका म्यानेजर सञ्जीव खनाल र सालपा विकास बैंक चिसापानी शाखाका म्यानेजर सरोज बस्नेतसँग सम्झौता गरे ।

 

गाउँपालिका उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईलगायतको उपस्थितिमा बैंकसँग सम्झौता गरिएको हो । 

 

गाउँपालिका अध्यक्ष संयोजकत्वको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना समन्वय समितिको बैठकको निर्णयअनुसार बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकसँग सम्झौता गरिएको हो ।

 

सामाजिक सुरक्षा भत्तामा हुने चुहावट नियन्त्रण गर्ने लक्ष्यका साथ आगामी असारदेखि बैंकमार्फत भत्ता वितरणको व्यवस्था मिलाउने गरी बैंकसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । खोटेहाङका ९ वडाका सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको खाता खोल्न सम्बन्धित बैंक वडा–वडामा पुग्ने गाउँपालिकाले जनाएको छ ।

 

८० वर्ष नाघेका ज्येष्ठ नागरिक र अस्पतालबाट दीर्घरोगीको सिफारिस प्राप्त लाभग्राहीलाई भने सामाजिक सुरक्षा भत्ता घरैमा उपलब्ध गराउने व्यवस्था मिलाउने तयारी गरिएको अध्यक्ष राईले जानकारी दिए ।

 

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको पूर्वतयारीमा सम्बन्धित वडाका कार्यालयबाटै खाता खोल्न शिविर सञ्चालन गर्ने तयारी भएकाले गाउँपालिकाले नागरिकताको प्रमाणपत्र, फोटो र ३ पुस्ते विवरण खुल्ने कागजातसहित उपस्थित हुन लाभग्राहीलाई आग्रह गरेको छ । 

 

चालू आर्थिक वर्षको दोस्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने बाध्यात्मक अवस्थाले पनि हाल धेरैजसो स्थानीय तहले बैंकमार्फत भत्ता वितरणको तयारी गरिरहेका छन् ।

 

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय पञ्जीकरण विभागले पनि गत २६ कात्तिकमा सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।