close

जैमिनीमा ढाकाको खुसी 

जैमिनीमा ढाकाको खुसी 

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ९ पैयुँथन्थापकी लक्ष्मी थापा बेरोजगार थिइन् । घरपरिवारको कमाइ खाएर बस्नुपर्दा निकै अप्ठेरो लाग्थ्यो । 

 

तर, अहिले त्यस्तो छैन । अहिले उनकै कमाइले परिवार पालिन्छ । २०६५ मा लघुउद्यम विकास कार्यक्रमको तालिम लिन पाएकी थापाले आफ्नो क्षमता बढाएर आत्मनिर्भर मात्र बनिनन्, समाजको उदाहरणीय पात्रसमेत बनेकी छन् । ३ महिने ढाका बुनाइ तालिमले उनी आत्मनिर्भर बनेकी हुन् । उनले अरूलाई प्रशिक्षण नै दिन्छिन् । 

 

घरेलु तथा साना उद्योग विकास कार्यालयले उनलाई मासिक ४० हजार रुपैयाँ दिएर प्रशिक्षक बनाएको छ । १० देखि ४ बजेसम्म तालिम दिए पनि बिहान– बेलुकीको समय घरमै ढाका बुनेर थप कमाइ गर्दै आएको उनले सुनाइन् । 

 

‘मलाई महिनाको ६० हजार रुपैयाँसम्म दिने अफर आइरहेका छन्’, उनले भनिन्, ‘टाढा गएर तालिम दिँदा खाने–बस्ने व्यवस्था गर्नेहरू पनि छन्,’ उनले भनिन् । 

 

श्रीमान् वैदेशिक रोजगारीमा थिए । तर, फर्केर आएपछि पछिल्लो समय श्रीमतीलाई सघाउँछन् । थापाले व्यवसायलाई सदरमुकाममा सारेपछि माग बढेको छ ।

 

अहिले उनको घरमै ४ वटा तान छन् । दैनिक सिक्ने र काम गर्न आउनेले उनको व्यवसायको प्रवद्र्धन गरेका छन् । ढाका बुन्न ६ हजार रुपैयाँको सामान किनेर ल्याएपछि ४० हजारसम्मको ढाकाको कपडा उत्पादन हुन्छ । २ दिन काम गर्दा महिलाले एउटा सल उत्पादन गर्छन् ।


बजारमा अहिले एउटा सलको २ हजार रुपैयाँ पर्छ । उनीहरूले ढाकाको अन्य सामान पनि बनाउने गर्छन् । साडी, कुर्ता र सलवारसमेत बनाएर उनीहरूले राम्रो कमाइ गर्न थालेका छन् ।

 

थापाले तालिम दिएका पनि व्यावसायिक बन्ने बाटोमै छन् । ‘३ महिनाको तालिम पायौँ । अब व्यावसायिक बनेर कमाइ गर्छु’, काठेखोलाको वडा नम्बर ४ तंग्रामकी दिलकुमारी पुनले भनिन्, ‘साना नानी छउन्जेल काम गर्न पाएकी थिइनँ । सीप पनि सिक्न पाएँ । अब नियमित काम गरेर देखाउँछु ।’

 

घरेलु तथा साना उद्योग कार्यालयले इच्छाशक्ति भएका महिलालाई छनोट गरेर तालिम दिएको प्रमुख गुमादेवी शर्माले बताइन् । चालू वर्ष २५ जना महिलालाई ढाका बुनाइको तालिम दिएको उनले जानकारी दिइन् ।