close

सुदूरपश्चिममा हराउँदै फुलीबुलाकी

सुदूरपश्चिममा हराउँदै फुलीबुलाकी

Trulli
ADVERTISEMENT

सुर्खेत– सुदूरपश्चिमका गाउँघर होस् वा सहर । कुनै बेला मौलिक गरगहना फुलीबुलाकी लगाएर सजिएका महिला थुप्रै भेटिन्थे । तर, पछिल्लो समय पुराना गहना लगाउने महिलाको संख्या क्रमशः घटिरहेको छ ।

 

आधुनिक परिवेश र रहनसहनमा परिर्वतन आएसँगै गाउँघरमा लगाइने गहना लोप हुँदै गएका हुन् । बजारमा आएका आधुनिक गहनासँगै महिलाले लगाउँदै आएका फुली, चक्ली, बुलाकी, मडहरी, चन्द्रमालगायत पुराना गहना ओझेल पर्दै गएका छन् । 

 

‘पहिले–पहिले बिहेबारी नभए पनि युवती र महिला दुवैले गहना लगाउने चलन थियो । अहिले त्यो चलन हट्न थाल्यो । पुराना नयाँ भए । नयाँले सबै मौलिकता बिर्सिए’, दैलेखकी जशु थापाले भनिन् । 

 

पहिले बिहे नहुँदै गाउँघरमा परम्परागत गहना पहिरिनेहरू पनि अहिले नयाँपनमा मिसिएपछि पुराना गहना ओझेल परेको उनको बुझाइ छ । 

 

‘पहिलेका चेलीको घरमा मगनी गर्न जाँदा फुलीबुलाकी माग्ने चलन थियो । अहिले त्यो चलन आधुनिक गरगहनाले लियो । सुन पनि महँगियो । परम्परागत गहना नासिँदै गए ।’

 

पहिले गाउँघरमा पुग्दा सबैका कान, नाकमा फुलीबुलाकी, चन्द्रमा लगाएर झिलमिल टल्किन्थे तर अहिले त्यस्तो छैन । परम्परादेखि चल्दै आएको संस्कृति, रीतिरिवाज आधुनिक परिवेशका कारण लोप हुँदै जाने हो भने मौलिकपन सधैँका लागि नामेट हुने अवस्था आउन सक्ने कालीकोटकी रामसरा शाहीको चिन्ता छ । 

 

पहिले–पहिले गाउँघरमा हातमा काँडेचुरा, रानीचुरा, कान र नाकमा सुनका गहना, गलामा मंगसूत्र र विभिन्न पोतेले भरिभराउ भएका छोरीचेली भेटिन्थे । अहिले फाट्टफुट्ट रूपमा मात्र लगाउने गरेको दैलेखकी ४५ वर्षीया पानसरी बुढा सुनाउँछिन् । 

 

‘हाम्रो पालामा सबैले फुलीबुलाकी, मडहरीलगायत थुप्रै गहना लगाउँथ्यौँ तर अहिलेकाले लगाउनै छाडे’, उनले भनिन् । चक्ली, फुलीबुलाकी पुराना जमानाकाले लगाउने हो । नयाँले समयसँगै परिवर्तन हुनुपर्छ भन्ने मान्यता बढिरहेकाले परम्परागत गरगहना हराउँदै गएको दैलेखको ठाटीकाँधकी नमुना शाही बताउँछिन् ।

 

‘अब हामी महिला पुरानै परम्परा, संस्कृतिमा अल्झिनुहुँदैन । समयसँगै परिर्वतन हुनुपर्छ । किन महँगा सुन लगाउने ? कानमा रिङ र नाकमा नथनी भए पुग्छ भन्नेको जमाना आयो’, शाहीले भनिन् ।