close

सामाजिक विकासमन्त्रीलाई रक्सी उपहार ! 

सामाजिक विकासमन्त्रीलाई रक्सी उपहार ! 

Trulli
ADVERTISEMENT

खोटाङ– प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईलाई खोटाङका स्थानीयले लोकल रक्सी उपहार दिएका छन् ।

 

सामाजिक विकासमन्त्री भएपछि पहिलोपल्ट गृहजिल्ला प्रवेश गरेकी राईलाई शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १४ बुइपाका स्थानीयले आल्चाको तिनपाने रक्सी उपहार दिएका हुन् ।

 

खोटाङको पहिलो महिला मन्त्रीका रूपमा वडा कार्यालय बुइपाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईलाई बधाइसँगै उपहारस्वरूप एक बोत्तल लोकल रक्सी दिइयो ।

 

कार्यक्रममा बुइपाका वडाध्यक्ष दिनेश राईले ‘ब्यान्ड भर्सेस ब्रान्ड’ की अभियन्ताका रूपमा चिनिएकी मन्त्री राईलाई उपहारस्वरूप आल्चाको तिनपाने रक्सी प्रदान गरेका थिए । 

 

मन्त्री राई लोकल रक्सीमाथिको ब्यान्ड (प्रतिबन्ध) फुकुवा गरेर ब्रान्ड बनाउने अभियन्ता हुन् । सांसदको भूमिकामा रहेका बेला लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गरेर औद्योगिकीकरण गर्नुपर्ने आवाज उठाउँदै आएका कारण मन्त्री राईलाई बुइपाबासीले अभियानको सफलताका लागि लोकल रक्सी उपहार दिएका हुन् ।

 


स्थानीयको आर्थिकोपार्जनका लागि घरेलु रक्सीलाई औद्योगिकीकरण, बजारीकरण र व्यावसायिकीकरण गर्ने सपना साकार पार्न हौसलास्वरूप मन्त्रीलाई रक्सी उपहार दिइएको वडाध्यक्ष राईले बताए ।

 

‘तीनपाने ब्यान्ड होइन, ब्रान्ड बन्नुपर्छ । मन्त्री राईलाई स्वागत तथा बधाई,’ युवा नेता मिलन राईले फेसबुकमा लेखेका छन्, ‘तिनपानेलाई ब्रान्ड बनाउने उहाँको अभियानलाई साथ दिँदै तिनपाने हस्तान्तरण गरिएको छ ।’ 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर ४ खाल्ले घर भएकी राई गत १३ चैतमा प्रदेशको सामाजिक विकासमन्त्री नियुक्त भएकी हुन् । 


लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गरेर औद्योगिकीकरण गर्नुपर्ने आवाज उठाउँदै आएकी राई नै मन्त्री बनेपछि ‘ब्यान्ड भर्सेस ब्रान्ड’ ले साकार रूप लिने धेरैको अपेक्षा छ ।


केही समयअघि प्रशासनको अगुवाइमा दिक्तेलमा लोकल रक्सी नष्ट गर्दासमेत सांसद राईले विरोध जनाएकी थिइन् । पदभार ग्रहणलगत्तै मन्त्री राईले कोदोको लोकल रक्सीमाथिको ब्यान्ड हटाएर ब्रान्ड बनाउने नारा प्रदेश १ बाट लागू गरिने प्रतिबद्धता जनाएकी थिइन् ।


‘निष्ठापूर्वक काम गर्ने र जनताको नजरबाट गिर्ने काम मबाट नहुनेमा विश्वास व्यक्त गर्दछु,’ मन्त्री राईले फेसबुकमा लेखेकी छन्, ‘ब्यान्ड भर्सेस ब्रान्ड’ को नारा प्रदेश १ बाट लागू गर्ने कोसिस हुनेछ ।’ 


१५ असार २०७७ मा संसद्को विनियोजन विधेयकमाथिको छलफलका क्रममा लोकल रक्सीलाई व्यावसायिकीकरण र औद्योगिकीकरण गर्न सके सिंगो देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘ब्यान्ड भर्सेस ब्रान्ड’ को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन् । 


लोकल रक्सीलाई प्रतिबन्ध गर्ने हो भने विदेशी रक्सीलाई पनि गर्नुपर्ने उनको जिकिर थियो । आदिवासी जनजाति महिलाले आम्दानीको स्रोतको माध्यम बनाएको लोकल रक्सीलाई वैध उद्योगका रूपमा विकास गर्न सके अन्य जातजातिका समुदायले समेत यसको उद्योग स्थापना गर्ने मन्त्री राई दाबी गर्छिन् ।


‘हामीले लोकल रक्सीमा ब्यान्ड लगायौँ । रातो चन्दनमा लगायौँ । गाँजामा लगायौँ । आफ्नो बहुआयामिक जडीबुटीमा प्रतिबन्ध लगायौँ । विदेशी उत्पादनलाई खरिद गर्ने, विदेशी रक्सी छ्यापछ्याप्ती बिक्री वितरण गर्ने वातावरण बनायौँ’, मन्त्री राई भन्छिन्, ‘अब विदेशी रक्सीलाई ब्यान्ड गरौँ, नेपाली लोकल रक्सीलाई ब्रान्ड बनाऔँ ।