close

नेकपा फुट्दा एमाले र माओवादी नेतालाई लाभैलाभ !

नेकपा फुट्दा एमाले र माओवादी नेतालाई लाभैलाभ !

Trulli
ADVERTISEMENT

खोटाङ– सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदियो । चुनावमा २ तिहाइ हाराहारी मत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार एमाले र माओवादी केन्द्र ब्युँतिएपछि विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेको छ ।


तत्कालीन नेकपामा रहेका एमाले र माओवादी केन्द्रका नेता आ–आफ्नै साविकको पार्टीमा फर्किएका छन् । नेकपामा गोलबद्ध बनेका नेता तथा कार्यकर्ता सो पार्टीमा देखिएको विवाद र सर्वोच्चको फैसलाले पुनः छुट्टिनुपर्ने अवस्था बन्यो ।

 

नेकपामा रहेका एमाले र माओवादी केन्द्र एकाएक प्रतिस्पर्धी पार्टीका रूपमा अलग्गिए । यसलाई दुःखद र सुखद मान्ने दुवै प्रकृतिका कार्यकर्ता देखिएका छन् । 


नेकपाभित्रको विवाद र सर्वोच्चको फैसलाले खोटाङलाई भने फाइदा पुगेको छ । सर्वोच्चको फैसलाले ब्युँतिएको एमाले र माओवादी केन्द्रमा खोटाङका नेताले पार्टी राजनीतिमा अहिलेसम्मकै ठूलो पद पाएका छन् ।

 

खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरिरहेको एमालेको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् । ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई हटाएर सो ठाउँमा भट्टराईलाई १४ फागुनमा मनोनयन गरेका हुन् ।

 

संसद् पुनस्र्थापनापछि प्रमुख सचेतकबाट गुरुङलाई हटाएर सो ठाउँमा भट्टराईलाई स्थान दिइएको हो । २०५४ मा तत्कालीन नेकपा मालेको प्रमुख सचेतकमा खोटाङकै टंक राई चयन भएका थिए । 

 

यस्तै, प्रदेशसभा सांसद रामकुमार राई पासाङ नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको उपनेता चयन भएका छन् । 

 

गत १६ चैतमा विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्बोलाई संसदीय दलको नेता चयन गरेलगत्तै आङबोकै अध्यक्षतामा बसेको दोस्रो बैठकले राईलाई संसदीय दलको उपनेता चयन गरेको हो । 

 

एमाले र माओवादी केन्द्र ब्युँतिएकै परिणाम प्रदेशसभा सांसद उषाकला राई प्रदेश १ को सामाजिक विकासमन्त्री नियुक्त भएकी छन् । समानुपातिक सांसद बनेकी राई १३ चैतमा प्रदेशको सामाजिक विकासमन्त्री नियुक्त भएकी हुन् ।

 

यसअघि एमालेबाट संविधानसभा सदस्यको भूमिका निर्वाह गरिसकेकी राई खोटाङबाट प्रदेशको पहिलो मन्त्री पनि बनेकी छन् । खोटाङले झन्डै १९ वर्षपछि फुल मन्त्री पाएको हो । 

 

मन्त्रीको सूची हेर्ने हो भने २०५८ मा अशोक राई स्वास्थ्यमन्त्री बनेयता खोटाङबाट कोही पनि मन्त्री बन्न सकेका थिएनन् । 

 

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि जिल्ला तहमा पनि कतिपय नेताको जिम्मेवारी बढेको छ । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिदा खोटाङका केही नेतालाई भने लाभ मिलेको पत्रकार कृष्ण आचार्य बताउँछन् ।

 

कतिपयले तत्काल नपाउने पद पाएको पत्रकार आचार्यको टिप्पणी छ । ‘भविष्यमा उनीहरूले यो जिम्मेवारी पाउँथे होलान् तर नेकपा रहिरहेको भए अहिल्यै पाउने सम्भावना थिएन,’ सम्पादक समाज खोटाङका अध्यक्षसमेत रहेका आचार्यले भने, ‘पदीय लाभको हिसावले खोटाङलाई फाइदा मिलेको देखियो । केही नेतालाई ट्रेडमार्क प्राप्त भयो । तर, पद पाउने खुसी छन्, नपाउने दुःखी ।’