बैंक, कोरिया, कतारको जागिरलाई बाईबाई

निर्वाहमुखी गाउँलाई व्यावसायिक बनाउन जुटे तन्नेरी


  • change font
  • change font
  • change font

पर्वत– वैदेशिक रोजगारी र स्वदेशभित्रै पनि लामो समय गैरसरकारी संस्थामा काम गरेका युवाले सामूहिक कृषि फार्म खोलेर गाउँका किसानलाई व्यावसायिक बनाउने अभियान थालेका छन् । 

 

पर्वतको महाशिला गाउँपालिकाको वडा नम्बर ५ लुंखुका ५ जना युवा मिलेर सिंगो गाउँलाई अर्गानिक उत्पादनमा लगाउने, हरेक किसानलाई व्यवसायमा जोड्ने र तिनको उत्पादनको सहज बजारमा पहुँच बढाउने उद्देश्यले कृषि फार्म सञ्चालनमा ल्याएका हुन् ।


गैरसरकारी संस्था र बैंकमा जागिरे भएका तिलक जैसी, वैदेशिक रोजगारीमा कतारमा काम गरेर फर्केका विष्णु अधिकारी, कोरियाबाट फर्केका सागर थापा र स्थानीय सुवास शर्मा तथा प्रकाश अधिकारी मिलेर गाउँमै नयाँ प्रकारको कृषि फार्म थालेका हुन् । 

 

लुंखु बजारदेखि १ किमि दक्षिणमा रहेको एफएफ अर्गानिक कृषि फार्म अहिले लुंखुबासीको पहिचानको रूपमा विकास हुन थालेको छ । यो फार्ममा अहिले धेरै पशु तथा कृषि उत्पादन छैन । तर, जुन लक्ष्य र उद्देश्यले खोलिएको छ, त्यो फराकिलो छ । 

 

‘हामीले आफ्नो उत्पादन मात्र हैन, हरेक घरको एउटा फर्सी पनि बजार पठाउने योजना बनाएका छौँ,’ जैसीले भने, ‘त्यसका लागि सहकारी मोडल बनेको छ ।’ एफएफ अर्गानिक कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थामार्फत कृषि फसल संकलन र बजारीकरण सुरु भएको हो ।


यहाँका मानिसको आउजाउ पोखरामा छ । ३ घन्टामा पोखरा पुग्न सकिन्छ । फार्ममा युवाहरूले हरेक दिन प्रत्येक घरको कृषि फसल संकलन गर्छन् र पोखरा पठाउँछन् । 


उनीहरूले दैनिक ५ टनसम्म तरकारी र दूध बजार पठाउने लक्ष्य राखेका छन् । दैनिक कम्तीमा ५ सय लिटर दूध, १ सय केजी खसीबोका पोखरा पठाउने क्रम सुरु भइसकेको जैसीले बताए । 


‘यहाँका कम्तीमा १ हजार घरलाई हामीले व्यावसायिक बनाउने लक्ष्य राखेका छौँ,’ जैसीले भने, ‘ती घरमा हुर्केका खसीबोकाको बजार हामीले खोजिदिन्छौँ ।’ सहकारीमार्फत गाउँमै पसल र रेस्टुराँ सञ्चालनमा छ । 

 

उक्त पसलमा दैनिक उपभोग्य वस्तु किन्नुपर्ने किसानले २–४ केजी काउली लिएर आयो भने किनेर मूल्य दिने तथा सोही मूल्यको सामान विनिमय गराउने मोडलको फर्म बनेको हो । एउटा कुखुरा बेच्नुपर्ने किसानले पनि विनिमय गरेर रकम वा अन्य सामान लैजान सक्ने व्यवस्था गरिएको उनले बताए ।

 

‘४ सय रुपैयाँको तरकारी वा हजारको कुखुरा उत्पादन भएका किसानले बजार पठाउन सक्दैनन् तर हामीले त्यस्ता २० देखि ५० वटा संकलन गरेर पोखराको बजारमा लगिदिन्छौँ,’ जैसीले भने, ‘त्यसको मूल्य किसानले घर छेवैमा पाउँछन् ।’

 

वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रेमिट्यान्स सटहीको काम पनि थाल्ने तयारीमा उनीहरू छन् । यो अभियानमा जैसीलाई साथ दिने विष्णु अधिकारी र सागर थापालगायतले आलोपालो बजारीकरणमा काम गरेका छन् ।


अहिलेसम्म उनीहरूले डेढ करोड रुपैयाँ लगानी गरेर भैँसी गोठ, कुखुराको टहरा, खानेपानीको व्यवस्थापन, रिसोर्ट तथा रेस्टुराँ खोलिसकेको जैसी सुनाउँछन् ।

 

अर्गानिक रेस्टुराँसहित बजार क्षेत्रबाट आउने १० देखि २० जनासम्म पाहुनालाई एक रात बसाइ, खाना तथा क्याम्प फायर गर्ने गरी व्यवस्थापन भएको अधिकारीले बताए । 

 

गाउँपालिकाकै धुँवाकोटस्थित ऐतिहासिक स्थलमा होमस्टेको मजा लिने र क्याम्प फायरसहित बस्ने व्यवस्थासमेत गरिएको हो । पाहुनाले अर्गानिक खाना र सांस्कृतिक कला अनुभव गर्न पाउने व्यवस्था रहेको उनले जानकारी दिए ।

 

स्थानीयसँग सांस्कृतिक कार्यक्रमका लागि पनि सम्झौता भएको उनले सुनाए । लुंखुदेखि हुवाससम्म बस सेवा पनि सञ्चालनमा छ । यो प्रदेश सरकारको मुख्य सडकअन्तर्गत पर्छ ।


कुश्मादेखि लुंखु हुँदै हुवास जाने सडकले स्याङ्जाको गल्याङ र सेतीवेणी जोड्छ । पर्यटकीय दृष्टिले १–२ रात बिताउने लक्ष्यले हिँडेका पाहुना पनि एक रात बस्न सक्ने स्थान भएकाले उनीहरूले लगानी बढाउने तथा थप व्यवस्थापनमा जोड दिएका छन् । 


समूहमा लागेका सबै युवाले गाडी चलाउन सक्छन् । ‘चालक नभए काम रोकिने अवस्था नआओस् भनेरै सबैले सबैको विकल्प बनाएका छौँ,’ अधिकारीले भने, ‘भर्खर हेर्दा सामान्यजस्तो लागे पनि दीर्घकालीन रूपमा गाउँलेलाई धनी र व्यावसायिक बनाउने लक्ष्य हो ।’

 

अहिले २–४ केजी तरकारी बेच्न पाएको किसानले अर्को वर्ष क्विन्टल फलाउने जोस निकाल्न साथ दिने उनीहरूको दाबी छ । 


‘गाउँमा निर्वाहमुखी उत्पादन गरिरहेका किसान अब व्यावसायिक बन्नुपर्छ, बजारीकरणमा हामीले काम गर्छौं,’ अर्का युवा सागर थापाले भने, ‘किसानले गरेको हरेक दुःख मूल्यमा परिणत हुनुपर्छ ।’ 

 

अहिलेसम्म निर्वाहमुखी भएकै कारण आवश्यक पर्दा पैसा निकाल्न नसक्ने अवस्था भएको उनले सुनाए । सहकारी मोडल भएकाले दैनिक बचत तथा ऋणको काम पनि गर्दा गाउँमा व्यवसायमा लगानी बढाउन सकिने, सानो काममा सदरमुकाम र पोखरा धाइरहनुपर्ने अवस्था हट्न थालेको वडाध्यक्ष जीवन उचै ठकुरीले बताए ।