close

अनुदान सदुपयोगले मात्रै समृद्धि: मन्त्री गुरुङ

अनुदान सदुपयोगले मात्रै समृद्धि: मन्त्री गुरुङ

Trulli
ADVERTISEMENT

बागलुङ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले किसानलाई दिइने अनुदानले मात्रै समृद्धि नआउने बताएका छन् । राज्यले दिने अनुदान किसानले सदुपयोग गर्न नसके त्यसको परिणाम गलत आउने उनको भनाइ छ । 

 

शनिबार बागलुङको ताराखोलामा निर्मित बहुउद्देश्यीय सभाहल उद्घाटन गर्दै मन्त्री गुरुङले कृषिप्रधान देशका किसानले ऋण गरेर भए पनि उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे । 

 

ऋणले मानिसलाई जिम्मेबार बनाएर धनी बन्ने बाटोमा जानुपर्ने उनको भनाइ थियो । किसान बलियो र समृद्ध नबन्ने बेलासम्म देश समृद्ध नहुने भन्दै उनले व्यावसायिक उत्पादनमा सक्रिय हुन सुझाए । 

 

सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न कुनै कसुर बाँकी नराखेको दाबी उनले गरे । आफ्नै कार्यकालभित्र गण्डकीलाई उज्यालो प्रदेश बनाउने उनले घोषणासमेत गरे । सरकारले त्यसका लागि सबैखाले स्रोतको प्रयोग गर्ने मन्त्री गुरुङले जानकारी दिए ।

 

‘विद्युत नपुगेको ठाउँमा सोलार जडान हुन्छ । ढुक्क हुनुुस्, हाम्रै कार्यकालमा सबैका घरमा बत्ती बल्छन्,’ गुरुङले भने । कालोपत्रे सडक नरहेको ताराखोलामा गुरुङले भाषणको बीचमै सडक सम्झिए र आफ्नो प्रतिबद्धता राखे । 

 

‘काठेखोला गाउँपालिकाको रिजालचोक (मध्यपहाडी लोकमार्ग) देखि ताराखोला गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु गर्छौं,’ गुरुङले भने, ‘पालिका मुकाम कालोपत्रे सडकले जोडिएको प्रदेश बनाउने अभियानमा हामी छौँ ।’ 

 

मन्त्री गुरुङले राजनीतिक प्रसंग कोट्याउँदै महाधिवेशनले चुनेको नेतृत्व नमान्नेले विधि र सिद्धान्तका कुरा गर्न नमिल्ने बताए । एउटै पार्टीमा बसेर उही पार्टीका अध्यक्षको निर्देशन नमान्ने विधि र सिद्धान्त विपरीत हुने उनको जिकिर छ । ७ सय जना अट्ने क्षमताको सभाहल गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण गरिएको हो । 

 

२ करोड ८१ लाख ३६ हजार रुपैयाँको लागतमा सभाहल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा सभाहल निर्माण भएको हो ।