close

३ वर्षदेखि आवाजविहीन घन्टाघरको घडी

३ वर्षदेखि आवाजविहीन घन्टाघरको घडी

Trulli
ADVERTISEMENT

सुर्खेत (बीरेन्द्रनगर) –कुनै समय प्रत्येक घन्टा ठूलो आवाज दिएर नागरिकलाई समयको जानकारी दिने वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ स्थित घन्टाघरका घडी ३  वर्षदेखि आवाजविहीन भएका छन् ।

 

४ वटै भित्ताबाट समय हेर्न मिल्ने उक्त घडीका सुई बिग्रिएर अलपत्र परेका हुन् । विगतमा आवाज सुनेर समयको अड्कल लगाउने स्थानीयलाई अहिले त्यो क्षण इतिहासजस्तै भएको छ । 

 

प्रदेश राजधानी वीरेन्द्रनगरको पर्यटकीय पहिचानका रूपमा रहेको घन्टाघरका घडी बिग्रँदा यसको स्वरूप नै बिग्रिएको वडा नम्बर ६ का स्थानीय ओम श्रेष्ठले बताए ।

 

‘घन्टाघरका घडी बिग्रिएको पनि ३ वर्ष भइसक्यो । पहिला त्यही घडीको आवाजबाट हामीलाई समयको जानकारी हुन्थ्यो । तर, अहिले त्यो सपनाजस्तो भइसक्यो,’ श्रेष्ठले भने । बिग्रिएका घन्टाघरका घडी बनाउन कसैले चासो नदिएको उनले सुनाए ।

 

कर्णाली प्रदेश सुर्खेतको मुटुमा रहेको घन्टाघरको संरक्षण नहुँदा यसको महत्त्व लोप हुने अवस्थामा पुगेको बताउँदै श्रेष्ठले भने, ‘घन्टाघरको घडी बनाउने जिम्मा कसैले लिएनन् । घडी मर्मत गर्न नसक्नेले देश कसरी बनाउनलान् ?’ संरक्षण अभावमा घन्टाघरको अस्तित्व लोप हुने अवस्थामा पुगेको श्रेष्ठको भनाइ छ ।

 

दिनहुँ बिग्रिँदै घन्टाघरको स्वरूप


समयको जानकारी दिने मात्र नभई कर्णाली प्रदेशक पर्यटकीय स्थल घन्टाघरबाट सुर्खेत उपत्यका धेरै ठाउँ सहजै अवलोकन गर्न सकिन्छ । 

 

तर, पछिल्लो समय संरक्षण अभावमा घन्टाघरको स्वरूप दिनहुँ बिग्रिँदै गएको छ ।  वीरेन्द्रनगरको पश्चिमतर्फ खुलामञ्चमा रहेको घन्टाघर २०४४ मा चीन सरकारको सहयोगमा स्थापना गरिएको थियो । सौर्यशक्तिबाट चल्ने घडीहरू अहिले जीर्णावस्थामा पुगेका छन् । 

 

घन्टाघरभित्र रहेका अस्ट्रिचलगायत अन्य चरा हराएपछि पर्यटक आएर नाक खुम्च्याउँदै फर्किन्छन् । पहिले घन्टाघरलाई रमणीय पार्कका रूपमा लिए पनि अहिले यसको स्वरूप बिग्रिँदा दुःख लागेको दैलेखबाट सुर्खेत झरेका हिमाल रसाइलीले बताए । 


‘पहिले घरबाट बजार आउँदा कति बेला घन्टाघर गएर पूरै सहर अवलोकन गरुँ भन्ने हुन्थ्यो तर अहिले जान मन लाग्दैन,’ उनले भने ।

 

घन्टाघर पार्कलाई वीरेन्द्रनगरले संरक्षण गर्ने र पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले निजी–साझेदारी योजनाअन्तर्गत सुर्खेतका व्यवसायी चिन्तामणि शर्मालाई २०६८ मा वार्षिक ७६ हजार रुपैयाँ भाडामा पहिलो १० वर्षे सम्झौतामा दिएको बताइएको छ । 

 

घन्टाघरबाहेक भित्र रहेका अन्य संरचना व्यक्तिगत लगानीमा निर्माण भए पनि २७ भदौ २०७५ को चट्याङका कारण घडी पुनः बिग्रिएको व्यवसायी शर्माले बताए । 


‘मैले घडी मर्मतका लागि भनेर नगरपालिकाबाट चिठ्ठी लिएर उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयमा प्रस्ताव हालेँ तर अख्तियारमा मुद्दा परेपछि काम हुन सकेन’, व्यवसायी शर्माले भने, ‘यसको व्यवस्थापनका लागि समन्वय भइरहेको छ ।’

 

शर्माले जिम्मा लिइसकेपछि घडीहरू पटक–पटक मर्मत गरे पनि पुराना भइसकेकाले चल्ने अवस्था छैन । प्राविधिकले नयाँ घडी फेर्नुपर्ने सुझाव दिएकाले यसबारे नगरपालिकामा जानकारी गराएपछि मन्त्रालयबाट पनि बजेट आएको उनले जानकारी दिए ।

 

तर, काम हुन नपाई मुद्दा परेपछि समस्या भएको उनको बुझाइ छ । वीरेन्द्रनगर नगरपालिकाले पनि घन्टाघरको महत्त्व जोगाउन चासो देखाएको नगरप्रमुख देवकुमार सुवेदी दाबी गर्छन् । 

 

‘सम्झौताअनुरूप घन्टाघरमा राखिएका घडीको मर्मतसम्भार व्यवसायीले गर्नुपर्ने हो । शर्माले नगरलाई अनुरोध गरेपछि हामीले मन्त्रालयसँग समन्वय गरेर बजेट विनियोजन भएको हो । अख्तियारमा मुद्दा परेपछि समस्या भयो ।’