close

मुस्लिम बालिका विद्यालय शिक्षाबाटै वञ्चित 

५ कक्षा पढेपछि उमेर बढेको बात लगाएर बिहे

मुस्लिम बालिका विद्यालय शिक्षाबाटै वञ्चित 

५ कक्षा पढेपछि उमेर बढेको बात लगाएर बिहे

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको जानकी गाउँपालिकामा बस्ने जिया खातुन अहिले कक्षा ५ पढ्दै छिन् । उमेरले १४ वर्ष पुगेकी उनी अब विद्यालय जान नपाउने भन्दै चिन्तित छिन् । 

 

‘उमेर बढ्यो भने हामीलाई स्कुल जान दिइँदैन’, उनले भनिन्, ‘हामीले कक्षा ५ सम्म मात्रै पढ्न पाउँछौँ । त्यसपछि कि बिहे गर्नुपर्छ कि घरायसी काममै रमाउन सक्नुपर्छ ।’

 

जानकी गाउँपालिकाको वडा नम्बर ५ पथरैयामा मुस्लिम समुदायको बाक्लो बसोबास छ । बस्तीकै बीचमा बालविद्यामन्दिर आधारभूत विद्यालय छ । तर, त्यो बस्तीबाट मुस्लिम समुदायकी बालिका शकिना खातुन जागाले मात्रै कक्षा ७ उत्तीर्ण गरेकी छिन् ।

 

‘मेरो विवाह भइसकेको छ’, उनले भनिन्, ‘मुस्लिम समुदायका हामी छोरीहरूले ५ कक्षामाथि पढ्नै मुस्किल छ । छोरी ठूली भए अभिभावकले विद्यालय पठाउन आनाकानी गर्छन् ।’


आँगनकै विद्यालयमा कक्षा ८ सम्म पढाइ भए पनि मुस्लिम बालिका पढ्न नआउने गरेको स्थानीय शिक्षक बताउँछन् । उनले भने, ‘२०४८ देखि गाउँमै स्कुल सञ्चालनमा आएको छ तर हालसम्म मुस्लिम समुदायका बालिकाले ५ कक्षाभन्दा बढी पढेका छैनन् ।’

 

चलनका नाममा छोरीलाई शिक्षा आर्जन गर्नबाट वञ्चित गराइनु गलत भएको जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । ‘अहिलेको युगमा पनि बालिकाहरू रुडीवादी परम्पराका कारण स्कुल शिक्षाबाट वञ्चित हुनुहुँदैन’, उनले भने, ‘हामी पालिकास्तरबाट जनचेतनासँगै सम्झाउने, बुझाउने काम गर्छौं ।’