close

लगातार २ वर्ष रोकियो बिस्का जात्रा

लगातार २ वर्ष रोकियो बिस्का जात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर– कोरोना महामारी बढ्दै गएपछि यस वर्ष पनि भक्तपुरको बिस्का जात्रा स्थगित गरिएको छ । जात्रा चलाउँदा भक्तजनको भीड हुने र त्यसले संक्रमण फैलिन गई भयावह अवस्था आउन सक्ने आशंकामा बिस्कामा रोक लगाइएको हो । 

 

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो । बैठकले गत वर्षजस्तै यस वर्ष पनि जात्रा नगर्ने निर्णय गरेको हो ।

 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाललगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।


हाल छिमेकी भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना देखिएकाले जात्रामा रोक लगाइएको हो । 


भक्तपुरमा मनाइने बिस्केट जात्रामा रथ तान्ने तथा लिंगो ठड्याउने काममा हजारौँ भक्तजन सहभागी हुने गरेका छन् । यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने काम गत वर्षजस्तै यस वर्ष पनि नगर्ने निर्णय बैठकले गरेको हो ।

 

बैठकले नयाँ वर्ष २०७८ अवसरमा हुने पूजापाठ, सप्ताह र पिकनिकजस्ता कार्यक्रमले कोभिड–१९ को जोखिम बढ्ने सम्भावना रहेकाले यस्ता कार्यक्रम गर्दा सीमित संख्यामा स्वास्थ्यको मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

 

भक्तपुरमा मनाइने जिब्रो छेड्ने तथा सिन्दूर जात्रामा अत्यधिक भीडभाड भई कोभिड–१९ को जोखिम बढ्ने सम्भावना रहेकाले यस्ता काम नगर्न÷नगराउन सबैलाई आग्रह गरिएको छ ।


कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्न सबै नगरपालिकालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

 

यस्तै, सरकारबाट जारी स्वास्थ्य मापदण्ड उल्लंघन गर्नलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भएको छ ।