close

भीम अस्पतालाई सुविधासम्पन्न भवन हस्तान्तण 

भीम अस्पतालाई सुविधासम्पन्न भवन हस्तान्तण 

Trulli
ADVERTISEMENT

रूपन्देही- भीम अस्पताललाई सुविधासम्पन्न भवन हस्तान्तरण गरिएको छ । लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको सुविधासम्पन्न आकस्मिक भवन हस्तान्तरण गरिएको हो ।

 

भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले व्यवसायीलाई यस्तै दिगो प्रकृतिको सामाजिक कार्यमा लगानी गर्न आग्रह गरे । 

 

कोभिड-१९ ले राज्यका स्वास्थ्य संस्थाहरूको अवस्था छताछुल्ल बनाएको उनले स्वीकारे । अबको दिनमा स्वास्थ्य सेवाको सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले प्रदेशका सबै जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालको रूपमा विस्तार गर्ने जानकारी दिए ।

 

५० शय्याको अस्पताल निर्माणका लागि पहिलो सर्त भौतिक पूर्वाधारै रहेको हुँदा यसैमा प्रदेश सरकारले जोड दिएको उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकराज विश्वकर्मालाई उक्त भवन हस्तान्तरण गरेका हुन् ।

 

योसँगै भीम अस्पतालको सेवा थप प्रभावकारी हुनेछ । भैरहवाबाटै व्यावसायिक जीवन सुरु गरेको लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानले यस क्षेत्रमा थुप्रै सामाजिक काम गरेको छ ।

 

विपन्न परिवार दुर्घटनालगायत अन्य कारणले अकालमै मृत्यु नहोस भन्ने उद्देश्यले प्रतिष्ठानले भीम अस्पताल परिसरमा आधुनिक सुविधासहित २ तले आकस्मिक भवन निर्माण गरिदिएको छ । भवनमा कतिपय निजी अस्पतालमा नभएको सुविधा रहेको अस्पताल प्रशासनको दाबी छ ।

 

३ करोड २५ लाख रुपैयाँ बढी लागतमा तयार भएको भवनमा आकस्मिक सेवाका साथै भेन्टिलेटरसहित आईसियु कक्ष छ । प्रतिष्ठानले सुदीप निर्माण सेवालाई ठेक्कामा दिएको थियो ।

 

१ करोड ७० लाखमा भवन र १ करोड ५० लाख रुपैयाँमा सामग्री वितरण गरिएको छ । ३० लाख रुपैयाँको लिफ्ट पनि उक्त भवनमा निर्माण हुनेछ । भवनको पहिलो भुइँ तलामा अतिगम्भीर खाले बिरामीका लागि २४ घन्टे आकस्मिक सेवा प्रदान गरिनेछ ।

 

भुइँ तलामै प्रकोप व्यवस्थापन कोठा रहेको छ । कोरोनाबाट पाठ सिक्दै विभिन्न प्रकोपजन्य रोग व्यवस्थापनको अग्रिम तयारी गरिएको छ । भुइँ तलामै साधारण अपरेसन कक्ष, आइसोलेसन, ड्युटी रुम र युटिलिटी रुम रहेका छन् ।

 

पहिलो तलामा २ वटा अत्याधुनिक भेन्टिलेटर सुविधासहितको ४ शय्याको आईसियु कक्ष, महिला र पुरुषका लागि ५/५ वटा अलग-अलग शय्या, प्रतीक्षा केन्द्रलगायत संरचना तयार भएका छन् ।

 

कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राज्यको पहिलो दायित्व नै नागरिकको अकाल मृत्यु हुनबाट रोक्नु भएको बताए ।  लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानका संरक्षक कुन्तिदेवी न्यौपाने, अध्यक्ष शोभाकर न्यौपाने, दुर्गाप्रसाद न्यौपाने, टीकाराम न्यौपानेलगायतको उपस्थिति थियो ।


भीम अस्पतालले हाल ओपिडी सेवा, आकस्मिक, अन्तरंगमा प्रसूति र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा (खोप पोषण, परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, यूएसजी एआरटी सेवा दिँदै आएको अस्पतालका मेसु डा. शकुन्तला गुप्ताले बताइन् ।

 

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री दीपक बोहरा, प्रदेशसभा सदस्य सन्तोष पाण्डे, कृष्ण न्यौपाने, सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीलगायतले बोलेका थिए ।