close

स्थानीयको लगानीमा ४ मेगावाटको तल्लो मध्य रावाखोला शिलान्यास 

स्थानीयको लगानीमा ४ मेगावाटको तल्लो मध्य रावाखोला शिलान्यास 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिका र स्थानीयको सेयर लगानीमा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । स्थानीय सरकार र गैरआवासीय नेपालीको लगानीमा वडा नम्बर राखाबाँदेलमा ४ मेगावाट क्षमताको तल्लो मध्य रावाखोला जलविद्युत् आयोजनाको काम सुरु गरिएको हो । 

 

करिब ८० करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र सम्पन्न हुने आयोजना आइतबार ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले शिलान्यास गरे ।

 

रावाखोलाको नोक्सेमा इन्टेक बनाएर पेनस्टक पाइपबाट ४ किलोमिटर पर पानी लगेर १४० मिटर तल पिपिचाफेदीमा राखिने टर्बाइनमा खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । 

 

उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने तल्लो मध्य रावाखोला जलविद्युत् उत्पादन प्रालिले जनाएको छ । गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न लागिएको आयोजनाका लागि गाउँपालिकाले १० प्रतिशत अर्थात् २ करोड ५० लाख रुपैयाँ सेयर लगानी गर्ने सम्झौता छ ।

 

३ कात्तिक २०७६ मा गाउँपालिका अध्यक्ष निरौला र तल्लो मध्य रावाखोला जलविद्युत्का अध्यक्ष शम्भु घिमिरेबीच सेयर लगानीसम्बन्धी सम्झौता भएको थियो । 

 

तल्लो मध्य रावाखोला जलविद्युत उत्पादन प्रालिले सेयर लगानी गरेर अपनत्व ग्रहण गर्न आग्रह गरेकाले गाउँपालिकाले क्रमागत सेयर लगानी गरेको अध्यक्ष निरौलाले बताए । जलविद्युत् आयोजनाका लागि आर्थिक वर्ष २०७७÷७८ मा ५० लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । 

 

आयोजना शिलान्यास कार्यक्रममा पूर्वसभासद् दुर्गाजयन्ती राई, रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलालगायत उपस्थित थिए ।